काठमाडौँ । नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो ।
राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका विकको आफ्नो भन्ने कोही छैन । उनलाई गाउँका चिनेजानेका स्थानीयले त्यो होटलमा ल्याएर काममा लगाइदिएका थिए ।
त्यसैगरी रामेछापका १३ वर्षीय जेके तामाङ पुरानो बसपार्कबाट चक्रपथ चल्ने माइक्रोबसमा सहचालकको रूपमा काम गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आफू सहसचालक भएर काम गर्नुपरेको तामाङ बताउँछन् । “घरमा बाबा हुनुहुन्न, भाइबहिनी, आमा हुनुहुन्छ, विद्यालय जान्थे, शुल्क तिर्न पैसा नभएपछि यो काममा लागे”, उनले भने ।
उमेर नपुगी जोखिमयुक्त काम गर्ने रोहित र जेके प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै धेरै बालबालिकालाई बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ विपरीत श्रमिकका रुपमा काममा लगाउने गरेको पाइन्छ । ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । ऐनले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपको श्रमयुक्त काममा लगाउन नहुने व्यवस्था गरेको छ ।
केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालश्रमसम्बन्धी चालू आर्थिक वर्षको प्रथम चौमासिकको अवस्था विश्लेषण गर्दा २० घटना प्रकाशमा आएका छन् । बालबालिकालाई श्रममा प्रयोग गरेको प्रकृतिलाई हेर्दा घरेलु तथा होटल श्रमिकका रूपमा सबैभन्दा बढी आठ छन् । भारतमा काम गर्नका लागि पाँच, सार्वजनिक यातायातमा श्रमिकको रुपमा तीन, इँटा उद्योग र लागुऔषध ओसारपसारमा दुई÷दुई बालबालिका संलग्न रहेको पाइएको छ । लैङ्गिक रूपमा हेर्दा बालक १४ र बालिका छ रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उमेर समूहका आधारमा १० वर्ष वा सो भन्दामुिनका एक, ११ देखि १४ वर्षका नौ र १५ देखि १८ वर्षका १० रहेका छन् । बालअधिकारकर्मी विकास केसीले सरकारले बालश्रममुक्त गर्ने हो भने भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुहुन्छ ।
सो अवधिमा विभिन्न कारणले २४ बालबालिकाको हत्या भएको घटना सार्वजनिक भएका छ । त्यसैगरी बालवालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्नेक्रम पनि विद्यमान छ । यस अवधिमा १७ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् ।