१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडको संक्रमण रोकथाममा ध्यान दिन राष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहितको टोलीसँग अन्तरक्रिया गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित त्यस कार्यक्रममा कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवं मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको बताउँदै यस क्रममा कोभिड १९ को महामारीसंग लड्न अग्रपंक्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सफाईकर्मीहरूप्रति आभार व्यक्त गर्नुभयो ।

“कोरोना भाइरससँग लड्न शुरुवातमा औषधि थिएन, खोप आइसकेको थिएन । वैज्ञानिकहरूको अथक प्रयासका कारण खोप उपलब्ध हुन थालेको पनि करिब एक वर्ष पुगेको छ । नेपाल आफ्ना नागरिकलाई शुरुवातमै खोप लगाउन सक्ने मुलुकमध्ये एक हो,” राष्ट्रपति भण्डारीले भन्नुभयो ।

यद्यपि पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखा परेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको संक्रमण दर पनि धेरै हुने भनिएको छ भन्दै राष्ट्रपति भण्डारीले अगाडि भन्नुभयो, “यस नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्याण्ड लगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएका छन् । हाम्रो छिमेकी मित्रराष्ट्र भारतमा समेत आजै मात्र ओमिक्रोन संक्रमण भेटिएको औपचारिक रूपमा पुष्टि भएको छ । ”

विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ भन्दै राष्ट्रपति भण्डारीले जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सकेसम्म छिटो सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन आवश्यक छ । एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञहरूको राय लिएर को ’बुस्टर डोज’ समेत उपलब्ध गराउनुपर्दछ । नयाँ भेरिएन्ट ओमिक्रोन बाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्दछ ।”

“खोप लगाउने कार्यलाई निरन्तरता दिंदै हामीले  फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ, कोरोना भाइरसको पाछिल्लो  अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाहरूको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिन्छ,” उहाँले भन्नुभयो । 

पिसिआर टेस्टलाई हरेक जिल्लासम्म पु-याउन र अस्पतालमा विरामीको केयरका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्ने तथा कोभिड १९ का बिरामीहरू तथा अस्पताल भर्ना भएका विरामीलाई प्रदान गरिने प्यालिएटिभ सेवालाई  महामारीका समयमा  अझै दिनु आवश्यक रहेको राष्ट्रपतिले बताउनुभयो ।

पीसीआर टेस्ट निशुल्क र सहज बनाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुन सक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तह अन्तर्गतका संरचनात्मक व्यवस्थाहरूलाई एकीकृत र जवाफदेही रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अक्सिजन र अत्यावश्यकीय औषधीमा हुन सक्ने अभाव र कालाबजारी नियन्त्रण गर्न औषधी व्यवस्था विभाग र सुरक्षा टोली परिचालन गर्न आग्रह गर्दै उहाँले अक्सिजन उत्पादन प्लान्ट स्थापना, मर्मत सम्भार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्व तयारीमा जोड दिन विशेष अनुरोध पनि गर्नु भयो ।  त्यस अवसरमा विगत दुई वर्ष भन्दा बढी समयदेखि संसारलाई नै पीडित बनाइरहेको कोभिड १९ महामारीको सामना गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले अपनाएका रणनीति, खोपको अवस्था एवं संक्रमणको अवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयले प्रस्तुतीकरण गरेको थियो ।

सो अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोभिड १९ को नयाँ भेरिएन्टबाट सिर्जित त्रासलाई ध्यानमा राखेर सरकारले विशेष सतर्कता र तयारी गरिरहेको जानकारी गराउनु भएको थियो । उहाँले देशभरका १६ हजार खोपकेन्द्रबाट हालसम्म २ करोड ६८ लाख डोज खोप नागरिकहरुलाई लगाइसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हालसम्म २० वटा देशमा कोरोनाको नयाँ भेरिएन्ट ओमीक्रोन देखिएको, नौ वटा देशबाट उडान अनुमती रद्द गरिएको र विमानस्थलमा पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।”