३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

रौनक हराउँदो होली

रौनक हराउँदो होली
अ+ अ-


बर्दिवास : महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए÷नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् । 


श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेषगीत) अब यहाँ सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदङ्ग, हारमोनियम र डम्पूm (जोगिराका वाद्यवादन) का तालमा प्रत्येक रात मिथिलाका बस्ती÷बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता हराएको बूढापाकाको भनाइ छ । 

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गवैया (गायक) का समूहले गाउने गीतले दिने होली पर्वको सन्देश अब सुन्न छाडिएपछि पर्व आएको पत्तै पाइन छाडिएको महोत्तरीको भङ्गाहा–४ का पुराना जोगिरा गवैया ७५ वर्षीय रामनन्दन महतो बताउनुहुन्छ । “बौवा, जमाना छल, हमसभ जोगरा गवैछलि त पुरे बस्ती डेढ महीनाधैर उमङ्गित होयत छल” (बाबु, एक जमाना थियो, हामी जोगिरा गाउन थालेपछि डेढ महीनासम्म पुरै बस्ती उमङ्गमा हुन्थ्यो) महतोले विगत सम्झँदै भन्नुभयो, “आब जोगिरा सुनलेल मोन तर्सैय” (अब जोगिरा सुन्न मन व्यग्र हुन्छ) । 

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त भाव र रउस मिसिएका शब्दावलीको संयोजनका जोगिरा सुन्न छाडिएपछि फागु पर्वको रौनक हराउँदै गएको यहाँका आम बूढापाका बताउँछन् । “देखु बौवा, होली त काइले अई, मुदा बुझाइते नई अई जे पावैन नजदिक अई” (हेर्नोस् बाबु, फागु पर्व त भोलि नै हो, तर पर्व आएको भान नै पर्दैन) बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले दुखेसो पोख्नुभयो । पुराना जोगिरा गवैया धेरैजसोको मृत्यु भएको र कतिपय बुढ्याइँले घरको कुनामा थन्किएसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब यो लोपकै अवस्थामा पुगेको महतोकै छिमेकी ७० वर्षीय बालेश्वर ठाकुर बताउनुहुन्छ । 

“किनका के हाथ में कनक पिचकारी, किनका के हाथ में अबिर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सीयाजी के हाथ में अबिर झोरी…!! जोगिरा..सररर..!!” (कसको हातमा सुनौला पिचकारी र कसको हातमा अबिरको झोली छ ?) भन्ने प्रश्नमा “रामजीके हातमें कनक पिचकारी..सीयाजी के हातमें अबिर झोरी..हो खेलैय होली” (श्रीरामका हातमा सुनौलो पिचकारी र सीताजीको हातमा अबिर झोली..खेलौँ है होली) गवैया समूहले सवालजवाफ शैलीमा गाइने जोगिराका यी स्वर सुन्न छाडिएपछि पर्वको रौनक हराएको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् । सांस्कृतिक यस्ता गीत हराएर अब चर्को स्वरका डिजेबाजामा छाडा गीत संस्कृति हुर्केको बूढापाकाको आरोप छ । 

तिथि मिति सम्झना नराख्नेका लागि पनि होली आउन लागेछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्पूmका तालमा सुनिने जोगिरा लोप भएको आँखाभरि हेरिरहँदा मन अड्याउन सकस पर्ने गरेको गौशाला नगरपालिका–१२ का लक्ष्मी महतोले बताउनुभयो । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने होली पर्वमा हास–परिहास, ठट्टा गरिनेहरुबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुनछाडेको भङ्गाहा–३ का बासिन्दा नेपाली काङ्ग्रेसका नगर सभापति ७० वर्षीय रुपनारायणसिंह थारू बताउनुहुन्छ । 

संस्कृतिको सम्झना मात्र नभई त्यो प्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तीता अतित बिर्साउने रउस र अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको यहाँका पाका मैथिलको दुखेसो छ । “होली आएको पत्तै हुँदैन” महोत्तरीकै औरही नगरपालिकाको भोइल बस्तीका ७० वर्षीय मोहन महतो खिन्न हुँदै भन्नुहुन्छ, “टोल–टोल, बस्ती–बस्तीमा गुञ्जिने जोगिरा सुन्न छाडिएका छन् ।” नयाँ पुस्ताले पुराना संस्कृति बिर्संदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आएको महतोको थप चिन्ता छ । 

“कोन तालपर डम्पूm बाजे, कोन ताल मृदङ्ग, कोन तालपर गोरिया नाचे कोन तालपर हम..!! जोगिरा सरररररररर..!!” (डम्पूm र मृदङ्ग कुन तालमा बज्दैछन् ? गोरीको र मेरो नाचको ताल कस्तो छ ? जोगिरा सरर..) गवैयाले ठट्टाभावका जोगिराका यी हरफ गाउँदा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना जोगिरा गवैया बताउँछन् । 

“हे डम्फाके चोट महलबीच पहुँचय, सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !!” (जब डम्पूmको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्…फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा विजयकुमार कर्ण बताउनुहुन्छ । 

सामाजिक छुवाछुत, उचोनिचो जात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्नेहरु पनि एकअर्कालाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गर्नुभयो । 

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभई गवैया समूहबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । “कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा, कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर…!!” एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव जोगिराबाहेक अरु बेला कल्पना पनि गर्न नसकिने मिथिला लोकसंस्कृतिका ज्ञाता जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ७८ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरववोध, आध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमङ्गको भाव एकसाथ भेट्टाइने झा बताउनुहुन्छ । 

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिएपनि सस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बूढापाकाले टिप्पणी गर्ने गरेका छन् । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिनसके मात्र मिथिला संस्कृति र सभ्यताको पहिचान संरक्षण हुनसक्ने शिक्षण पेशाबाट अवकाश लिनुभएका महोत्तरीको भङ्गाहा–७ मेघनाथगोरहन्नाका ६२ वर्षीय चन्द्रनारायण चौधरी (थारू) को नयाँ पुस्तालाई सुझाव छ । 

मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा शुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौँ दिन महोत्तरीकै कञ्चनवन (भङ्गाहा–९) मा रामसीताले अबिर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबिर अर्पित गरी प्रसादस्वरुप एकअर्कालाई लगाइदिएपछि रङ अबिरको फागु पर्व विधिवत् शुरु भएको मानिने परम्परा रहँदै आएको छ । 

पर्व मनाउने परम्पराको तिथिको गणनाले पहाड र भित्री मधेशमा आज बुधबार फागु पर्व मनाइँदैछ । यसै गणनाले मिथिलामा भोलि बिहीबार होली मनाउने तयारी देखिए पनि धेरैजसो भेगमा भने शुक्रबार होली मनाइने मैथिल बताउँछन् । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले शुक्रबार होली मनाइने कर्मकाण्डका ज्ञाता मैथिल पुरोहित ब्राह्मण बर्दिवास–२ का दिनेशकुमार झाले बताउनुभयो । मिथिला माध्यमिकी परिक्रमा सकेका यात्री र अन्य श्रद्धालुले भोलि बिहीबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा गर्नेछन् ।