१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्धारा ‘बगदरबार’ नभत्काउन आदेश



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो ।

अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधानको संयुक्त इजलासले बागदरबार नभत्काउन आदेश जारी गरेको हो । महानगरसँग बागदरबारको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो ।

अदालतको उक्त आदेशसँगै अब महानगरले भवन भत्काउन पाउने छैन् भने ठेक्का पनि बदर गर्नुपर्ने छ । बागदरबार संरक्षणका लागि १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ टोली बनाउन परमादेश जारी भएको थियो ।

उक्त भवन निर्माण भएको सय वर्ष नपुगेको तर भूकम्पका कारण जीर्ण भएको भन्दै महानगरले भत्काउन खोजेकाले १०० वर्ष नभए पनि कलात्मक भवन संरक्षण गर्नुपर्ने भएकाले सो विषयमा प्रवेश गर्नै नपरेको परमादेशमा उल्लेख थियो ।

विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनः माथवरलाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि विसं १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंहको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनःसरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तमशम्शेर जबराको भनाइ छ ।

भीमसेन थापाले राजा गीर्वाणवीरविक्रम शाहबाट लालमोहर लगाएर धेरै जग्गा हात पारेको र विक्रम संवत् १८६८ तिर बागरदरबार बनेको इतिहासकार दिनेशराज पन्त बताए । उनले भने, “अहिलेको भवन बागदरबारको भवन होइन, बागदरबार धेरै जमीनमा बनाइएको र ठूलो थियो । हालको दरबार हरि शम्शेरले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हो तर उक्त दरबारलाई बाग दरबार भन्दा पनि फरक पर्दैन ।”

उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यस दरबारलाई उपयोग गरेका थिए । विसं १९९० को भूकम्पले त्यहाँको संरचना जीर्ण बनाएकाले पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्धशम्शेरका छोरीज्वाइँ हरि शम्शेरले भोग चलन गरेकाले सो भवनलाई हरिभवन भनिएको हो ।

विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको सो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो । विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले उक्त दरबार कामपालाई दिएकाले त्यसै वर्ष चैत २७ गतेदेखि महानगर त्यहाँ सरेको थियो ।