काठमाडौँ । युरो कप फुटबलको छनोट खेलमा बेल्जियम र पोल्यान्डले लगातार दोस्रो जित हात पारेका छन् । समूह ‘आई’ अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा बेल्जियमले साइप्रसलाई उसैको मैदानमा २–० गोलले पराजित गर्यो ।
बेल्जियमले दुबै गोल नौ मिनेटको बीचमा गरेको थियो । खेल सुरु भएको १०औं मिनेटमै अनुभवी खेलाडी इडेन हाजार्डले बेल्जियमका लागि पहिलो गोल गरे । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट ब्यवसायिक फुटबल खेल्ने हाजार्डले राष्ट्रिय टोलीबाट खेलेको यो एक सयौं खेल हो ।
हाजार्डले गोल गरेको नौ मिनेटपछि नै मिची बात्सुयीले बेल्जियमका लागि दोस्रो गोल गरेका थिए । क्रिस्टल प्यालेसबाट ब्यवसायिक फुटबल खेल्ने उनले बेल्जियमका लागि गरेको गोल सँख्या १३ पुगेको छ । उनले राष्ट्रिय टोलीबाट खेलेको यो २५औं खेल हो ।
सोही समूहको अर्को खेलमा स्कटल्यान्डले सन मारिनोलाई उसैको मैदानमा २-० गोलले हरायो । लगातार दुई खेलमा जित हात पारेको बेल्जियम ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेलबाट तीन अंक जोडेको रुस दोस्रो तथा समान अंक हात पारेका कजाकस्तान, साइप्रस र स्कटल्यान्ड क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा आसिन छन् ।
यसैगरी समूह ‘जी’ अन्तर्गतको खेलमा पोल्यान्डले घरेलु मैदानमा लात्भियालाई २-० गोलले हरायो । सोही समूहको अर्को खेलमा इजरायलले घरेलु मैदानको फाइदा उठाउँदै बलियो अस्ट्रियालाई ४-२ गोलले पराजित गर्यो ।
लगातार दोस्रो खेलमा सफलता हात पारेको पोल्यान्ड ६ अंकसहित पहिलो स्थानमा छ । चार अंकसहित इजरायल दोस्रो र समान अंक बटुलेको मासेडोनिया तेस्रो स्थानमा छन् ।