काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन दुई हप्ते अल्टिमेटम दिएका छन् । ओलीले उनलाई अराजकताको बाटो त्यागेर मूलधारमा आउन चैत मसान्तसम्मको म्याद दिएका हुन् ।
सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए । उनले चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले चेतावनी दिए ।