१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

चोरीको २३ लाख बरामद पछि, भागबन्डा !

चोरीको २३ लाख बरामद पछि, भागबन्डा !
अ अ+ अ-

काठमाडौं । २३ लाख ३८ हजार रकमसहित बैतडीको दशरथचन्द नगरपालिका–४ का नीरजबहादुर चन्द केही दिनअघि अत्तरिया आसपासबाट पक्राउ परे । इलाका प्रहरी मालाखेतीले रकमसहित उनलाई जिल्ला प्रहरी कैलालीमा बुझायो ।

जिल्ला प्रहरीले एक दिन थुनामा राखेर र चार दिन तारेखमा बोलाएर अनुसन्धान गर्‍यो । नीरजले भारतबाट कमाएर ल्याएको रकम भनेपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–५ का रोशन सिंहको जिम्मा लगायो । रोशन नेपाल तरुण दलका पूर्वधनगढी नगर अध्यक्ष हुन् ।

तर, उक्त रकम भारतको राजस्थानबाट चोरेर ल्याएको भन्दै नीरजलाई बैतडी प्रहरीले चैत १६ मा पक्राउ गर्‍यो । प्रहरीले उनको साथबाट डेढ लाख रुपैयाँ मात्र बरामद गर्यो । बाँकी रकम कैलाली जिल्ला प्रहरीलाई दिएको बयान उनले दिए । त्यसपछि उनलाई कैलालीमा ल्याइएको छ ।

उनका आफन्त देवबहादुर चन्दले कैलाली प्रहरीले १३ लाख रकम लिएर छाडेको आरोप लगाए । ‘नीरजलाई अपरिचित व्यक्ति रोशन सिंहको जिम्मा लगाउने काम कैलाली प्रहरीले किन गर्‍यो ? ’, उनले भने, ‘यसमा प्रहरीको मिलेमतो छ ।’ आफन्तको जिम्मा नलगाएकोमा उनले आशंका व्यक्त गरे ।

रोशनले राखेको १३ लाख रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ । रोशनले रकमसहित नीरजलाई जिम्मा लिएको कागज आफूसँग रहेको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए । ‘आफ्नो मान्छे भन्दै रोशन सिंह जिल्ला प्रहरी कार्यालयमा आए’, एसपी तिम्सिनाले भने, ‘नेपाली नोट भएकाले हामीले रकमसहित नीरजलाई उनको जिम्मा लगायौं ।’ एसपीले रोशनलाई रकम र नीरजलाई बुझेको कागजमा हस्ताक्षर गर्न लगाएको स्रोतको दाबी छ ।

रोशनले भने आफू राजनीतिमा लागेको मान्छे भएकाले नीरज र उसको झोलाको रकम जिम्मा लिएको स्वीकार गरे । ‘यसअघि पनि जिप्रकाबाट कतिपय अपरिचित व्यक्तिलाई जिम्मा लिएको छु’, उनले भने, ‘नीरजलाई पनि बुझें । मलाई त्यो रकम चोरीको हो भन्ने थाहा थिएन ।’

नीरजलाई बैतडी जान बसपार्कसम्म पुर्‍याएको पनि उनले स्वीकार गरे । ‘नीरजले यो झोलाको रकम राखिदिनुहोला, म एक–दुई दिनमा आइहाल्छु भने’, उनले भने, ‘मैले उनको १३ लाख रकम भएको झोला घरमा लगेर राखिदिएँ ।’ उक्त रकम चोरीको भन्ने थाहा पाउनेबित्तिकै प्रहरीलाई बुझाएको उनले सुनाए ।

कैलालीबाट छुटेको तेस्रो दिन बैतडी प्रहरीले नीरजलाई दशरथचन्द नगरपालिका–४ स्थित घरबाट डेढ लाख नगदसहित पक्राउ गरेको थियो । प्रहरीले चोरीको रकम भन्ने थाहा पाउँदा–पाउँदै कतैबाट सोधीखोजी नभएकाले आधा राखेर अभियुक्तलाई छाडेको आरोप देवबहादुरले लगाए । ‘प्रहरीले चोरीको रकम हो भनेर समात्ने अनि पूरै रकम दिएर छाडेको पनि भन्ने’, उनले भने, ‘आधा रकम अपरिचित व्यक्तिको घरमा फेला परिसक्यो भन्ने, यो सबै प्रहरीको चलखेल हो ।’

पाँच ग्राम चरेश फेला पर्नेबित्तिकै पत्रकार सम्मेलन गर्ने कैलाली प्रहरीले यो घटना भने मंगलबारसम्म सार्वजनिक गरेको छैन । ‘डीआईजीसँग सल्लाह गर्छु अनि मात्र घटना सार्वजनिक गर्ने/नगर्ने थाहा हुन्छ’, एसपी तिम्सिनाले भने ।

युवा संघ कैलालीलगायत सत्तारुढ संगठनले सामान्य घटनालाई ठूलो बनाएर देखाउने तर अन्तरदेशीय अपराधमा संलग्नलाई रकम खाएर छाडेको आरोप लगाएका छन् । भारतबाट रकम चोरेर ल्याएको थाहा पाउँदा–पाउँदै अभियुक्त छाडेकाले एसपी तिम्सिनालाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । युवा संघका जिल्ला सचिव राजु बम, वाईसीएलका सुरज खाती, अखिलका कुमार बडैला र अखिल क्रान्तिकारीका डम्बर भट्टराईले संयुक्त विज्ञप्ति निकालेका छन् ।

तरुण दलले भने संगठनको नाम जोडिएकोमा आपत्ति जनाएको छ । दलका जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमले आफ्नो संगठनको संलग्नता नरहेको विज्ञप्तिमा जनाएका छन् । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न बमले माग गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।