सप्तरी । एसईई परीक्षाको प्रश्नपत्र प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रदेश २ मा संचालन भइरहेको एसईई परीक्षाको चैतको १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र लिक गर्नेहरुलाई सार्वजनिक गरिएको हो ।
बिहीबार प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संयुक्त जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक हुनेहरुमा दुई प्रहरीसहित ६ जनालाई रहेका छन् ।
पक्राउ पर्ने प्रहरीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । जसको सुरक्षार्थ खटिएका जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन् ।