९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान

बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान
अ अ+ अ-


पाल्पाका अधिकांश स्थानमा चैते धान लगाउने चलन हराइसकेको भए पनि बढ्दो बाँदर आतङ्कका कारण मकैको विकल्पका रुपमा किसानले फेरि यसलाई रोज्न थालेका छन् ।

धेरै कृषक सुख सुविधा भोगी भइसके । कतिपयले भने सिँचाइ, कामदार अभाव जस्ता कारण चैते धानको खेती गर्न छाडिसके । चैतेक धान लगाउने जमीनमा केही स्थानमा मकै बाली लगाइएको छ भने केही ठाउँमा जमीन बाँझै राखिएको छ ।

रम्भा गाउँपालिका वडा नं १ हुँगीका कृषक भने यतिखेर मकैको विकल्पमा चैते धानखेती नै गरिरहेका छन् । बाँदरले खेतबारीका मकै खाएर सखापै पारेपछि विकल्पका रुपमा चैते धानतर्फ यहाँका कृषकको आकर्षण बढेको हो ।

कहुँगीको सघाह, स्वर्लेक, असेर्दी, साठी, च्याङ्लिङ्ग, ढाप, सघाको बलौटा बिर्ताका खेतमा केही वर्ष यता बाँदरले मकै बाली खाएर नष्ट पार्न थालेपछि चैते धान विकल्पका रुपमा लगाइएको छ ।

मकैमा घोगा लागेपछि बाँदरका समूह पसेर एकै पटकमा सत्यनाश पारेर सताउन थालेपछि कृषकहरु चैते धानखेती नै गर्न बाध्य भएको हुँगी सघाहका अगुवा कृषक ऋषिराम अर्यालले बताउनुभयो । यस क्षेत्रका करीब १०० कृषकले मकैको विकल्पमा चैते धान नै लगाउँदै आएको उहाँको भनाइ छ ।

“बाँदरका कारण नै चैते धान लगाउनुपर्ने अवस्था आयो, गाउँका युवा विदेशतिर छन्,” उहाँले भन्नुभयो, “नलगाऊँ जमीन बाँझै, लगाउँदा कामदार नपाइने समस्या छ । जेनतेनले कृषकले खेती गरिरहेका छन् ।” उहाँले जमीन नबाँझियोस् भनेर दुई रोपनी क्षेत्रफलमा यस वर्ष उहाँले चैते धान रोपिसक्नु भएको छ ।

चैते धान लगाउन थालेपछि बाँदर धपाउने झण्झट हटेको कृषक सागर रेग्मीले बताउनुभयो । आठ रोपनी क्षेत्रफलमा चैते धान रोप्नुभएका उहाँले भन्नुभयो, “बाँदरले खेतभरि लगाएका मकै खाएर सताएपछि मकै बालीको ठाउँमा चैते धान लगाएको छु ।”

मकैखेतीको तुलनामा चैते धानखेती गर्न कृषकलाई झण्झट छ । यसले गर्दा पनि हिजोआज जिल्लामा धेरैले चैते धान लगाउन छाडिसकेका छन् । यहाँका कृषकलाई भने चैते धानखेती गर्न छाडेर अरु बाली लगाउनुको विकल्प छैन ।

मकै, तरकारी, फलफूल बाली सबै बाँदरले खाएर नष्ट पार्ने हुँदा कृषक जमीन बाँझो नहोस् भन्नाका निम्ति चैते धान नै लगाउन बाध्य रहेको अर्का कृषक छविलाल डुम्रे बताउनुहुन्छ । जमीन बाँझो राख्न मनले नमानेपछि आफूले चार रोपनी खेतमा चैते धान रोपिसकेको उहाँले जानकारी दिनुभयो ।

पानीको रेखदेख र उत्पादन स्याहार्न निकै समस्या हुने कारणले गर्दा चैते धानखेती गर्न छाडेर यहाँका कृषकले मकै बाली लगाउन थालेका थिए तर खेतबाट मकै स्याहार्नै नपर्ने गरी बाँदरले खाएर नष्ट पारेपछि पुनः चैते धानमै कृषक फर्किएका छन् ।

हुँगीमा अहिले करीब ३० प्रतिशत चैते धान रोपाइँ सम्पन्न भइसकेको छ । चैतको १५ देखि वैशाखको १० गतेसम्म यहाँका कृषक चैते धान लगाउन व्यस्त हुन्छन् । चैते धानको क्षेत्रफल घट्दै कृषि ज्ञान केन्द्र पाल्पाको तथ्याङ्कलाई हेर्दा जिल्लामा वर्षेनी चैते धानखेती हुने जमीनको क्षेत्रफल घट्दो क्रममा छ ।

चैते धान लगाउने अधिकांश भूभाग घरघडेरीमा परिणत भइसकेका छन् । आजभन्दा एक दशक अगाडि चैत महीना शुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग धान रोप्ने काममा मेलापात गर्दागर्दै कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो भने अहिले चैते धान रोप्न छाडिएपछि कृषकका दिनहरु फुर्सदिला बनेका छन् ।

जिल्लाको दोस्रो बालीको रुपमा रहेको धान बालीअन्र्तगत पर्ने चैते धानखेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुँदै गएको छ । गाउँ गाउँका युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैते धान लगाउन छाडिएको छ ।

गाउँघरमा युवा जनशक्ति वैदेशिक रोजगारका निम्ति जाने क्रम बढेपछि कामदारको अभावले गर्दा पनि कृषकले चैते धान लगाउन छाड्दै गएका हुन् ।

सिंँचाइ सुविधा पुगेका स्थानमा कृषकले अनिवार्यजसो चैते धान रोप्ने चलन थियो तर, हिजोआज भने सिँचाइ भएका स्थानमा पनि चैते धान रोप्न छाडिएको छ ।

अर्कोतर्फ शहरोन्मुख हुँदै गरेका नगरपालिका तथा गाउँपालिकाका विभिन्न गाउँगाउँमा पुगेर जग्गा दलालले खेतीयोग्य भूमि खरीद गरी प्लटिङ्ग गर्न थालेपछि खेती गर्न छाडिएको हो ।

धान खेतीको लागि मुख्य अन्न भण्डार मानिएको माडीफाँटका खेत पहिले पहिले चैते धानले हरियाली हुन्थ्यो तर, अहिले भने यहाँ चैते धानखेती खासै हुँदैन । सिँचाइको सुविधा भएको पूर्वखोला फाँटभरि नै चैते धान रोप्ने र यही धानबाट वर्ष दिनसम्म खान पु¥याउने गरेका कृषकले हिजोआज भने कमै मात्रामा धान रोप्ने गरेको पाइन्छ ।

पूर्वखोला गाउँपालिकाका वडा नं २ जल्पाको लाबे–३ को रिङ्नेरह, ४ को टेवाफाँट लगायतका पाँच हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा पाँच प्रतिशत मात्र धान रोपाइँ गर्न बाँकी छ ।

निस्दी गाउँपालिका–१ को डमरा, २ को लिन्दीदेखि तलको भाग, ३ को क्याङ्गरुङ्ग, ४ को लामीदमार, मुढावास, धार्केदमार, ५ को गल्धाफाँट, ७ को ज्यामिरे मोटेखर्क लगायतका क्षेत्रमा कृषकले चैते धान लगाउँदै आएको कृषि शाखा प्रमुख नवराज घिमिरेले बताउनुभयो ।

रामपुर नगरपालिकाका विभिन्न खोलाखेतमा फाट्टफुट्ट चैते धान रोप्ने क्रम जारी छ । नगरपालिकाको वडा नं ४ को बडवान क्षेत्रमा भने वर्षेनी चैते धान रोप्ने गरिएको बताउने कृषक बालकुमारी थापाले आफूले दश रोपनी क्षेत्रफलमा चैते धान रोपेको जानकारी दिनुभयो ।

शहरोन्मुख बन्दै गरेको रामपुरका विभिन्न स्थानमा जग्गा प्लटिङ्ग भई लाखौँ मूल्य आनामा बिक्री भएका कारणले पनि चैते धानप्रति कृषक अनिच्छुक भएका हुन् । जिल्लामा करीब ७०५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषकले स्थानीय चैते २, चैते ३ र हर्दिनाथ जातको धान लगाउँदै आएका छन् । जिल्लाको माडीफाँट, रामपुर, अर्गली, पूर्वखोला लगायतका स्थानमा चैते धान खेती लगाइँदै आइएकामा अहिले यी स्थानका अधिकाँश जमीनमा धान लगाउनै छाडिएको छ ।

वर्षे धानको तुलनामा चैते धानको चामलको मूल्य बढी पर्ने गरे पनि कामदार अभाव, बिक्रीका लागि टुक्रा पार्ने बढ्दो प्रवृत्ति, सिँचाइको अभाव जस्ता कारणले उत्पादन क्षेत्रफल वर्षेनी घट्दै गएको छ । चैते धान चिउराको प्रयोजनका लागि अत्यन्त राम्रो मानिन्छ ।

वर्षे धानमा भन्दा बढी मेहिनत गर्नुपर्ने, वर्षे धानको ब्याडको तुलनामा चैते धानको ब्याड उतार्न अत्यन्त कठिन हुने, मौसम, तापक्रम राम्रो नभए बीउ नउम्रने जस्ता समस्या पनि रहेको कृषकहरु बताउँछन् ।

गाउँबाट पढाइ र रोजगारको सिलसिलामा युवा जनशक्ति शहरतिर पस्न थालेपछि सिँचाइ सुविधा पुगे पनि खेती गर्न समस्या छ भने केही स्थानमा भने सिँचाइको समस्या कायमै छ ।