१७ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक मनोविज्ञान



अ+ अ-

प्रायः आफै सवारी साधन चलाएर यात्रा गरिरहनुपर्ने मलाई आज अत्यन्त ग्लानि महसुस भयो । बाटोमा कोही ट्राफिकलाई सराप्दै थिए त कोही उसलाई ड्युटी सम्झाउँदै थिए । त्यहाँ ट्राफिकको उच्च आक्रोश पनि सुनिन्थ्यो ।

अस्ति भर्खर काकाको शिक्षक पुत्र प्रदीपको मोटरसाइकललाई बसले ठक्कर दिँदा घटनास्थलमै उसको मृत्यु भएको घटना र मोटरसाइकलको ठक्करले ट्राफिकको मृत्यु भएको समाचारले मलाई दुःखी बनाइरहेको थियो । सामान्य भनाभनदेखि हात हालाहालसम्म, घाइतेदेखि मृत्युसम्म अनि मोलमोलाईदेखि लेनदेनसम्मका ट्राफिक र चालकबीचका हर्कतहरू सुन्दै आएका हामी व्यवस्था फेरिए पनि प्रवृत्ति नफेरिएकोमा दुःखी बन्नुबाहेक के नै गर्न सक्दा रहेछौँ र ?

अहिले नेपालमा अकाल मृत्युको मुख्य कारण सडक दुर्घटना बनेको छ । यो कम होस् भनी ट्राफिक सचेतना कार्यक्रम चल्दै छन् । श्रव्यदृश्य सञ्चार माध्यमबाट प्रचार गरिएकै छ । पाठ्यपुस्तक र विद्यालयले यसबारे जागरणमूलक शैक्षिक अभियान चलाएका छन् । नियम उलङ्घनकर्तालाई जरिवाना तिराउने अनि सचेतना कक्षाहरूमा राख्ने, मापसे चेकजाँच गर्ने, आधुनिक प्रविधिको प्रयोग तथा ट्राफिक सङ्ख्या बढाउने गरिएकै छ । यति भएर पनि नेपाली सडक असुरक्षित छ, ट्राफिक हैरानी अत्यधिक बढेको छ । योभन्दा पनि बढी नागरिक सुख खोसिएको र विश्वबजारमा बदनामी बढेको छ । आधुनिक युगको ट्राफिक व्यवस्थापनमा गम्भीर प्रश्न खडा भएको छ ।

चोक–चौबाटोलाई खुला राख्न भाडावाल बसलाई एकदिन सम्झाएर वा सङ्केत चिन्ह टाँगेर मात्र नपुगेपछि ट्राफिक सिठी फुक्दै चर्को स्वरमा चिच्याई केही पर रोक्न आदेश दिइरहेका छन् । आफ्नो लेन कटेर आएका सवारी साधनलाई कारवाही गर्दै छन् । चिट काटिएकाहरूलाई क्षमा दिन वा घुस खान नमिलोस् भनी सी.सी. क्यामराहरू झुन्ड्याइएका छन् । तर बत्तीमुनि अँध्यारो हुन्छ । क्यामराले नदेख्ने ठाउँहरू पनि छन् । यसैले न चालकहरू डराउँछन् न सडक व्यवस्थापन सुध्रिन्छ । जहाँपायो त्यहीँ यात्रु झार्ने र चढाउने अनि पार्किङ गर्ने प्रवृत्तिमा खासै परिवर्तन आएको छैन ।

गोर्खाली बहादुर भनी चिनिएका नेपाली सन्तानले वर्तमानमा सडकमै वीरतापूर्ण तमासा देखाउन छाडेका छैनन् । मृत्युदेखि नडराउने मनुष्यको आश्चर्यजनक कामलाई नेपाली चालक बहादुरले पालन गर्दै आएका छन् । साथ दिने छँदै छन् ट्राफिक महोदय ।

यस्तो चालक र ट्राफिकबीच मनमुटाव बढाउने, जिउधनको क्षति गराउने र सर्वसाधारणले सास्ती भोग्नुपर्ने परिस्थिति वर्तमान मानव समाजमा पटक्क नसुहाउने कुरा हो । हो, हाम्रा सडकहरू साँघुरा, घुमाउरा अनि भत्किएका छन् । अगाडि बढ्नुभन्दा धेरै समय रोकिनुपर्छ । एक ठाउँमा एउटा मात्र काम गरेर नेपालीको गर्जो टर्दैन । ज्यान हत्केलामा राखेर गुड्नुपर्छ । आफूमात्र होसियार भएर हुन्न । अर्काको गल्तीको सजाय पनि आफैले भोग्नुपर्छ । धेरै कारणले प्रत्येक चालक र ट्राफिकको जीवन अत्यन्त जोखिमपूर्ण छ ।

यो बुझेर पनि यिनीहरूबीच दुस्मनी र वैरभाव घटेकै देखिन्न । वास्तवमा सचेत मानवीय उचाइमा हामी पुग्नै सकेका छैनौंँ । समय, विधि र व्यवस्थाले दुवैको मनोविज्ञान फेर्न सकेको छैन । हामी सोच्छौँ दुर्घटनाहरू चालक, यात्रु र बटुवाहरूका कारणले भएका हुन् ।

सडकमा रोकिएका सवारी साधन अनि छाडा पशु, कुकुर तथा फुटपाथ व्यापारीहरू, अगाडिको साधनलाई उछिन्ने होडाजी, असावधानीपूर्वक बाटो वा लेन परिवर्तन, सानोप्रति ठूलो सवारीको हेपाहा प्रवृत्ति, बाटो छेक्ने प्रतिशोधको मनोविज्ञान आदिलाई सडक दुर्घटनाको मुख्य कारण ठान्छौँ ।

आकाशे मार्गहरू प्रयोग नगर्ने र पेटीबाट नभई सडकबाटै पैदल हिँड्ने बटुवा मनोविज्ञान पनि हामीले बुझेका छौँ । त्यस्तै उपचारको खर्च र झन्झटबाट बच्न घाइतेलाई मृत्युकै ढोकामा पु¥याइदिने चालकको संवेदनाहीन पनि यहाँ देखिन्छ । यी सबै प्रधान नभई गौँण कारणहरू हुन् । मुख्य कुरा त ट्राफिक र चालकको मानसिक दरिद्रता हो ।

विकसित राष्ट्रहरूका सडकमा गति निश्चित हुन्छ । सडक फराकिला र स्पष्ट हुन्छन् । योजनाबद्ध, प्रविधियुक्त, मापदण्डपूर्ण र चालकमैत्री सडक सञ्जालले दुर्घटनाहरूलाई न्यूनीकरण गर्दछन् । योभन्दा पनि ठुलो कुरो चालकमा विकसित चेतनशीलता एवम् विवेकशीलता हो । छिमेकी राष्ट्र भारत विकसित भएर पनि ट्राफिक बेथितिले हाम्रै अवस्थाको परिचय दिएको पाउँछौं । अमेरिका जस्ता केही राष्ट्रहरूमा चालकरहित स्वचालित सवारी साधन गुड्ने अत्यन्त व्यवस्थित ट्राफिक व्यवस्था देख्न सकिन्छ ।

यस्तो उच्च सतर्कता, प्रविधिको प्रयोग एवम् आर्थिक समृद्धिले मात्र प्राप्त भएको होइन । यो त नागरिक, चालक तथा ट्राफिकहरूमा विकसित उच्च नैतिकता, कर्तव्यबोध एवम् सुसंस्कारले मात्र सम्भव भएको हो । यो गुण विकसित हुने हो भने नेपालीले धेरै जिउधनको क्षति, भनाभन र समयको बरबादी भोग्नुपर्ने थिएन ।


ट्राफिक नै नचाहिने गरी हरेक स्थलको सि.सि.क्यामराहरूले अवलोकन गर्न सक्ने र दोषीले उन्मुक्ति पाउनै नसक्ने प्रविधि ल्याउन सकिएला तर त्यसको कार्यान्वयन ट्राफिक प्रशासनले नै गर्ने हो ।

उसको मानसिकता नै भ्रष्ट छ भने स्थलगत प्रतिवेदन नै फेरिन्छ अनि वास्तविक अपराधी नै उम्किन्छ । परिणमतः चालक मनोविज्ञान थप अराजक बन्दै जान्छ । दुर्घटनामा प्रायः ठूला गाडीहरूको दोष देखाउने, शक्ति प्रदर्शन गर्ने अनि विधिको उल्लङ्ंघन गर्ने प्रवृत्तिका कारण सडक दुर्घटनाहरू बढ्ने गरेका छन् । प्रहरी प्रशासनप्रति नागरिक विश्वास गिर्दै गएको यस अवस्थाले हामीलाई गिज्याइरहेको छ ।

ट्राफिक व्यवस्थापन चुकेर नै हामी असुरक्षित बनेका हौँ । जेब्रा र लेनहरू सीमित अनि मेटिएका हुनु, फरक सवारीका लागि फरक लेन नहुनु, बिग्रिएका लाइटहरू समयमा नबन्नु, गति निश्चित नहुनु, सडकहरू भत्किइरहनु, पैदल पेटी नहुनु, फरक दिशातिर जाने गाडीले एकै लेन प्रयोग गर्नु, सङ्केतहरूको अभाव देखिनु आदि हाम्रा व्यवस्थापकीय कमजोरीहरू अवश्य हुन् । त्यसमा पनि हाम्रा सवारीहरू ठिक अवस्थामा हुँदैनन् । लाइट, ब्रेक, इञ्जिन, आदिको नियमित परीक्षण नगर्ने लापरवाह प्रवृत्ति हामीमा छ ।

पटक–पटक गलत लेन प्रयोग गर्दा वा गल्ती गर्दा सजायको भागिदार नबनेपछि ती चालकहरूको साहस र आत्मबल बढ्दै गएको हुन्छ । यसैले यात्राहरू दुर्घटित हुनुका कारणहरू हामीले आफैभित्र खोज्नुपर्ने हुन्छ ।


मुख्य सहरहरूका किनारमा जताततै पार्किङ गरिँदा सडक साँघुरिएका वान वे जस्ता छन् । सडकमै जोडिएका र छरिएका पसलहरू अनि दिनमै अनलोड गरिरहने र खरिदबिक्री चलिरहने प्रवृत्तिले सडकलाई कुरूप तुल्याएका छन् भने दुर्घटनाको कारण पनि बनेका छन् ।

खुल्ला जमिनहरूको खोजी गरी निजी तथा सरकारी स्तरबाट सशुल्क वा निशुल्क पार्किङहरूको पुग्दो व्यवस्था गरिएको देखिन्न । केही छन् तर पनि त्यसप्रति न चालक आकर्षित भएका छन् न तिनले पाकिङको भार थेग्न नै सकेका छन् । काठमाडौँ महानगरले पिक् एण्ड ड्रप वा प्रविधिमैत्री पार्किङ वा अनुगमनको व्यवस्थापकीय सुधारलाई अगाडि बढाएको छ । तैपनि चेकजाँच नियमित छैनन् । दण्डहीनता जस्ताको त्यस्तै छ । यी प्रयासले ट्राफिक र चालकको मानसिकतामा परिवर्तन ल्याउन सहेको देखिन्न ।

अन्त्यमा सडक दुर्घटना न्यूनीकरणका लागि हामीले ट्राफिक ज्ञान, आधुनिक विज्ञान र चालक मनोविज्ञानलाई फेर्नु जरुरी छ । अव्यवस्थित सडक नै सुरक्षित जीवन हो भन्ने सोची सभ्य संस्कृति र जिम्मेवार मानवीय संवेदनालाई उचाइमा पु¥याउन सकेमात्र नेपाली प्रतिष्ठा विश्वमाझ उच्च बन्ने छ । चेतना, विवेक र संयमको उच्च मानवीय गुणको विकासले मात्र हाम्रो यात्रा सफल हुन्छ ।