६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्तपातपूर्ण यमन युद्ध नरोकिने संकेत, सैनिक सहयोग रोक्ने प्रस्तावविरुद्ध ट्रम्पद्धारा भिटो प्रयोग



अ+ अ-

वासिङ्टन । साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो ) प्रयोग गरेका छन् ।

अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक रहेको बताए ।

अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै त्यस्तो सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्राट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कानुनको रुप लिन्थ्यो ।

राष्ट्रपति ट्रम्पले सिनेटको उक्त प्रस्ताव अस्वीकृत गर्ने र आवश्यक परे भिटो प्रयोग गर्न सक्ने चेतावनी यसअघि नै दिइसकेका थिए ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्रस्ताव २४७ – १७५ ले पारित भएको थियो । सिनेटले गत महिना नै यो प्रस्ताव पारित गरेको थियो ।

ह्वाइट हाउसले संसदको उक्त प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरेबिया समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको थियो ।

संसदमा डेमोक्राट सदस्यहरुले साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनमा कङ्ग्रेसको अख्तियारी बेगर नै अमेरिकाको सहभागिता गैरसंवैधानिक हुने तर्क अघि सारेका थिए । खासगरी हातहतियारको आपूर्ति र लडाकू विमानमा तेल भर्ने कार्य संवेदनशील कार्य हो ।

उदारवादी सिनेटर बर्नी स्यान्डर्स जस्ता धेरै सांसदहरुले युद्ध र शान्तिका विषयमा अमेरिकी सांसदहरुले निर्णय गर्न पाउनुपर्ने भन्दै वर्षौंदेखि बहस गरिरहेका छन् ।

“कङ्ग्रेसले आफ्नो जिम्मेवारी पुनः महसुस गर्दैछ, र यो यमनका सन्दर्भमा मात्र लागू हुँदैन यो भविष्यका लागि पनि हो,” यमन प्रस्तावका मूल लेखक स्यान्डर्सले संसदमा मतदानपछि बताए ।

उनले भने यमनको रक्तपातपूर्ण युद्धबाट तत्काल अमेरिका बाहिरिनु पर्दछ ।

ट्रम्पका कट्टर समर्थक भनेर चिनिएका जिम जोर्डन र मार्क मिडोज समेतका रिपब्लीकन सांसदले यमन युद्धमा अमेरिकाले सहयोग गर्नु उपयुक्त नरहेको बताए ।

यमनमा युद्धका कारण चरम मानवीय सङ्कट उत्पन्न भएको छ । यमनमा एक करोड ४० लाख मानिस भोकमरिको जोखिममा रहेका अध्ययनहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनको भनाईमा करिब १० हजार सर्वसाधारणको मृत्यु जथाभावी बमबारीबाट भएको जनाएको छ । साउदी अरेबियाको समर्थनमा रहेको यमनी सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच लामो समयदेखि युद्ध जारी छ ।

मानव अधिकार समूहहरुले गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएका छन् ।