६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान र अफगान सरकारबीच हुन लागेको वार्ता अनिश्चितकालका लागि स्थगित



अ+ अ-

दोहा । अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ ।

वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो ।

अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अफगानीहरुबीचकै वार्ताबाट टुङ्ग्याउनु पर्दछ भन्ने उद्देश्यबाट यसै साता विद्रोही तालिबानी समूह र अफगान प्रतिनिधिबीच वार्ता हुन लागेको थियो । तर काबुलले ठूलो संख्याको प्रतिनिधिमण्डल पठाउने जानकारी दिएलगत्तै त्यसलाई अस्वीकार गरिएको तालिबानले जनाएको छ ।

अफगानिस्तानमा १७ वर्षदेखि जारी हिंसात्मक युद्ध अन्त्य गर्न अमेरिकी प्रयास पनि जारी छ । अमेरिकाले अफगानिस्तानका विभिन्न पक्षबीच हुने भनिएको वार्ता स्थगित भएकामा असन्तोष प्रकट गरेको छ । अमेरिकी विशेषदूतको कार्यालयले दुबै पक्षलाई वार्तामा सहभागी हुन आग्रह गरेको छ । तर त्यस्तो वार्ताका लागि अर्को मिति घोषणा गरिएको छैन ।

वार्ताका आयोजक एवं द्वन्द्व तथा मानवीय अध्ययन केन्द्रका निर्देशक सुल्तान बराकातले एक विज्ञप्ति जारी गरी वार्तामा सहभागी हुने व्यक्तिहरुको नाम र पदका सम्बन्धमा समझदारी निर्माण गर्न पनि वार्ता स्थगित गर्नुपरेको बताए ।

अफगानिस्तानका राष्ट्रपति अश्राफ घानीको प्रशासनले गत मङ्गलबार अफगानिस्तानका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै दोहा गोलमेच वार्तामा सहभागी हुने भनी २५० जनाको सूची सार्वजनिक गरेको थियो । यो सूचीमा सरकारी प्रतिनिधिहरुको नाम पनि समावेश थियो ।

तर तालिबानले अफगान सरकारको नामावली ज्यादै ठूलो भएको जनाउँदै यतिठूलो संख्याका व्यक्तिसँग भेटवार्ता गर्ने आफ्नो कुनै योजना समेत नरहेको जानकारी गराएको थियो ।

तालिबानले यसै साता एक वक्तव्यमा “काबुलको कुनै होटलमा विवाह वा अरु कुनै समारोहको पार्टीजस्तो यो कार्यक्रम नरहेको” बताएको थियो ।

तालिबान समूहले राष्ट्रपति घानीका मुख्य र जिम्मेवार पदाधिकारीसँग मात्र व्यक्तिगत हैसियतमा भेटवार्ता गर्न चाहेको स्पष्ट गरेको छ ।