
काठमाडौँ । चीनको सबैभन्दा ठूलो एवम् महत्वाकांक्षी आयोजना बिआरआई सम्मेलन आगामी हप्ता चीनमा सम्पन्न हुदैछ । उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्रीको सहभागित हुन लागेको छ । त्यसो त यस सम्मेलनमा विश्वका १५० देशको सहभागिता रहने निश्चित भएको छ । ३७ देशका त राष्टपति र प्रधानमन्त्री नै सहभागी हुदैछन् ।
बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिइ आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएका छन् र यस आयोजना अघि बढाएका हुन् । त्यसैले चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ ।
यसअघि दुइृ वर्षमात्र अघि चीनले यस्तो सम्मेलन गरेको थियो । सो सम्मेलनमा विश्वका १४० देशको सहभागिता थियो । अहिले सो संख्या बढेर १५० पुगेको हो । त्यसैगरी अघिल्लो अर्थात पहिलो सम्मेलनमा विश्वका २९ देशका राष्ट्रपति तथा प्रधानमन्त्री थिए भने अहिले ३७ देश पुगेको हो । यस पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नै सहभागी हुने कार्यक्रम छ । त्यस्तै विश्वका अरु पनि ठुला, समृद्ध देशका नेताहरु सो सम्मेलन सहभागी हुदैछन् ।
नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी सो सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । त्यसका लागि राष्ट्रपति भण्डारीको करिब ५० जनाको प्रतिनिधिमण्डल त्यसतर्फ जाने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालको तर्फबाट सहभागी हुने सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि सहभागी हुनेछन् । सो सम्मेलनमा नेपाली काँग्रेस सहित विभिन्न दलका सांसद तथा नेताहरुलाई पनि सहभागी हुने भएका छन् ।
नेपाली प्रतिनिधिमण्डल एक दिन सियान पुगेर बस्ने कार्यक्रम रहेको बेइजिङस्थित नेपाली दूताबास समाचार स्रोतले जनाएको छ । सियानमा पनि राष्टपति भण्डारीले महत्वपूर्ण भेटघाट र भ्रमण गर्ने सो समाचार स्रोतले जनायो । त्यसपछि सो प्रतिनिधिमण्डल भोलिपल्ट बेइजिङ पुग्ने छ । बेइजिङमा रहँदा विभिन्न आयोजना र नेपाल चीनबीचका विभिन्न महत्वपूर्ण आयोजनाहरुमा पनि सहमति समझ््दारीमा हस्ताक्षर हुने भएको बताइएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणलाई चीनले राजकीय सम्मान दिएको छ । वर्तमान राष्ट्रपतिको यो कार्यकालको यो पहिलो चीन भ्रमण रहेको र बिआरआई चीनले पछिल्ला वर्षहरुमा बोआओभन्दा पनि महत्व दिएको फोरममा सहभागी हुन जाने भएकाले यस भ्रमणलाई राजकीय स्तरको सम्मान दिइएको समाचार स्रोतको दाबी छ ।
राष्ट्रपति सहितको नेपाली प्रतिनिधि मण्डल चीनको राजधानी बेइजिङमा रहेको वेस्टिन होटलमा बस्ने तय भएको बेइजिङस्थित नेपाली दूताबास समाचार स्रोतले जनाएको छ ।









