
काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई पराजित गरेको छ ।
आइतबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल बार्सिलोनाले सोसिडाडलाई २–१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा क्लेमेट लेङलेट र जोर्डी अल्बाले समान एक एक गोल गरेका थिए । सोसिडाडका लागि एक मात्रै गोल जुआनमीले गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको अन्तिम समयमा लेङलेटले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले उसामान डेम्बेलेको कर्नर किकमा हेडिङ गोल गरेका थिए ।
तर, खेलको ६२औं मिनेटमा सोसिडाडका लागि जुआनमीले गोल गरेर खेल १–१ को बराबरी बनाए । तर, खेलको ६४औं मिनेटमा बार्सिलोनालाई अल्बाले गोल गरेर २–१ को अग्रता दिलाए । उनले कप्तान लिओनल मेस्सीको पासमा गोल गरेका थिए ।
त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्सिलोनाले २–१ ले जित्यो । जितसँगै बार्सिलोनाको ३३ खेलबाट ७७ अंक रहेको छ भने । समान ३३ खेलपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग ९ अंकको अग्रता कायमै राखेको छ ।









