
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आईतबार सात फरक ठाँउमा भएको बम विस्फोट घटनाप्रति दुःख व्यक्त गर्दै आज श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सन्देशम भनेका छन्, ‘आज बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’
प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गरेका छन् । ‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु । नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
उक्त विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या कम्तिमा १५६ जना पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् भने ३५ जना विदेशी नागरिक पनि मारिएका छन् ।









