
काठमाडौं । श्रीलंकामा आइतबार ८ ठाँउमा भएको श्रृंखलावद्ध बिस्फोटमा परी मर्नेहरूको संख्या २९० पुगेको छ।
श्रीलंका प्रहरीका प्रवक्ताले सोमबार बिहानसम्म मृतकको संख्या २९० पुगेको र पाँच जना घाइतेको उपचार भइरहेको जनाएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको जनाएको छ।
श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले पक्राउ परेकाहरू धार्मिक अतिवादीहरू भएको बताएका छन्।
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर ९चर्च०मा आइतबार शृङ्खलाबद्ध बिस्फोट भएको थियो ।
राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।
विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।









