
काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४ जनालाई पक्राउ गरेको छ । श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए ।
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।
“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।
एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो ।
श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको पूर्व सूचना पाएर पनि सुरक्षा निकायले पर्याप्त सतर्कता अपनाउन नसकेकामा सुरक्षा निकायको आलोचना गर्नुभएको छ । तर उनले अहिले सरकारको पहिलो दायित्व मृतक र घाइतेको उचित व्यवस्थापन तथा शान्ति सुरक्षाको प्रबन्ध रहेको बताए ।









