
भ्लादिभोस्तक । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् ।
राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ ।
यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताए ।
गत फेबु्रअरीका भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।
किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लागेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो ।
नेता किमका हजुरबुबा एवं उत्तर कोरियाका संस्थापक किम इल–सुङ र बुबा किम जोङ–इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका थिए । रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिष्टहरुले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए ।
यसपटक रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वी क्षेत्र भ्लादिभोस्तक आउँदै छन् ।
सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गर्ने भएका छन् ।









