
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी नेइमारमाथि युइएफएले युरोपियन प्रतिस्पर्धाका तीन खेलमा प्रतिबन्ध लगाएको छ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा खेल पदाधिकारीको अपमान गरेकोमा दोषी ठहर गर्दै नेइमारलाई प्रतिबन्ध सजाय सुनाएको हो ।
त्यसतिबेला नेइमारले भिडियो असिस्ट रेफ्री (भिएआर)मा फुटबल नबुझेका मान्छेहरूलाई राखेकाले त्यस्तो भएको बताएका थिए।
‘यो अपमान हो। फुटबलका बारेमा केहि थाहा नभएका ४ मान्छेलाई स्लोमोसन रिप्ले फुटबल हेर्ने टेलिभिजन अगाडी राखिएको छ’, त्यतिबेला नेइमारले आफ्नो इन्स्टाग्राममा लेखेका थिए।
प्रतिबन्ध लागेका नेइमारले आउँदो सिजनमा च्याम्पियन्स लिगको समूह चरणका तीन खेल खेल्न पाउनेछैनन्।









