
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।
आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए ।
आगामी २६ गते सम्पन्न हुने परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ । परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ५९ र सबभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६२ हजार ५८८ परीक्षार्थीको सहभागिता रहेको छ ।
परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ ।
परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिएको छ । कक्षा १२ को परीक्षा २६ गते सम्पन्न हुनेछ भने वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुनेछ ।










