काठमाडौं । मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।
मलेसियाकालागि मोहम्मद हजिक ऐमानले १८ र वान मोहम्मद अजामले १६ रन बनाएका थिए । त्यस्तै, जिनेन्द्र मुरलीले १४ रन बनाए ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए ।