३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मासिक ७५ हजार कमाउँछन् ‘चटपटे बाजे’

मासिक ७५ हजार कमाउँछन् ‘चटपटे बाजे’
अ+ अ-

गलेश्वर । धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन बिताउन चाहँदैनन् । साठी वर्ष कटेपछि अब मैले के गर्न सक्छु र भन्ने हिनताबोधले ग्रस्त भएर छोराछोरी र परिवारको भर पर्छन् । तर, म्याग्दीका ७० वर्षीय एक वृद्धले छोराछोरी र आफन्तहरुको कुनै आश नगरी तीन हजार रुपैयाँको लगानी जुन व्यवसाय शुरु गर्नुभयो त्यसले अहिले उहाँलाई मासिक रु ७५ हजार आम्दानी जुटाइदिन्छ ।

बिहान उज्यालो भएदेखि राति १० बजेसम्म चनाचटपटे बनाउन भ्याइनभ्याई हुन्छ म्याग्दीका ७० वर्षीय लालबहादुर पुर्जा र उहाँकी श्रीमती ६५ वर्षीया लीलामती पुर्जालाई ।

बेनी बजारको मंगलाघाटमा २०६७ सालदेखि चनाचटेपटेको व्यवसाय शुरु गर्नुभएका पुर्जा दम्पतीले चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टा तारेर बिक्री गर्दै आउनुभएको छ । अमिलो, पिरो र स्वादिलो चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टाका परिकार बेचेर नै मासिक रुपमा रु ७५ हजार भन्दा बढी कमाइ हुने बताउने पुर्जा दम्पतीको संसार अनि, सम्पत्ति दुबै बनेको छ, चटपटे व्यवसाय ।

“मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ, केही शीप नलागेर आत्महत्या गर्नेसम्मको विचार गरें,” आफ्नो अतितलाई सम्झँदै सफलताको कुटुरो फुकाउन शुरु गर्नुभयो हँसिँला र रसिला पुर्जाले । आफ्नो विगतको विरसिला कुराहरु सुनाइरहँदा पुर्जाकी श्रीमती लीलामती आडैमा बसेर आँसु पुछिरहनुभएको थियो ।

सत्र वर्षको उमेरमा आफ्नो गाउँ म्याग्दीको कुहूँ थाइबाङबाट गरीबीका कारण लखेटिएर भारतका विभिन्न शहरहरुमा चौकीदारी र मजदूरी गर्दा पनि परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने मनस्थितिमा पुग्नुभएका पुर्जाको जीवन अहिले रहरलाग्दो बनेको छ । परिवार पाल्न पुग्ने कमाइ नभएपछि नेपाल फर्कनुभएका पुर्जाले बेनी बजारकै एउटा निजी विद्यालयमा ढोकापालेको काम गर्नुभयो । त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेपछि उहाँले शुरु गर्नुभयो चनाचटपटे व्यवसाय ।

“मैले बोर्डिङका सञ्चालकलाई ५०० रुपैयाँ तलब बढाइदिन भनें,” चनाचटपटे व्यवसाय शुरु गर्दाका दिनहरु सम्झँदै पुर्जाले भन्नुभयो – “उहाँ ९बोर्डिङ सञ्चालक० ले नबढाइदिए पछि त्यसैको झोंकमा आफन्तसँग तीन हजार रुपैयाँ सापटी लिएर यो व्यवसाय शुरु गरेको हुँ ।” यसरी तीन हजार रुपैयाँबाट शुरु गरेको उहाँको व्यवसाय अहिले फलेफुलेको छ ।
पुर्जालाई उहाँका ग्राहकहरुले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् । हँसिला, फरासिला र रसिला पुर्जाले आफ्ना ग्राहकहरुलाई स्वादिलो चनाचटपटे मात्र खुवाउनु हुन्न, रसिला कुराहरु गरेर पेट मिचिमिचि हँसाउनु पनि हुन्छ ।

‘बाजे नमस्कार’ भन्दै पसलमा आउने ग्राहकहरुलाई नमस्कार फर्काउँदै चनाचटपटे बनाउन व्यस्त हुनुहुन्छ पुर्जा । उहाँकी श्रीमती लीलामती कुखुराको टाउको र खुट्टा भ्ट्नु थाल्नुहुन्छ । ग्राहकलाई देख्ने बित्तिकै उनीहरुलाई के चाहिन्छ भन्ने कुरा बुझिसक्नु हुने पुर्जा फटाफट चटपटे बनाएर प्लेटमा राखिदिँदै पैसा उठाउन थाल्नुहुन्छ । मुख र हात सँगसँगै चलाउने पुर्जाका कुरा सुन्दै हाँस्दै ग्राहकहरु खान थाल्छन् स्वादिलो चटपटे र कुखुराका परिकार ।

मंगलाघाटमा एउटा घरको सटर भाडामा लिएर पुर्जाले चनाचटपटेको पसल चलाउनुभएको छ । मासिक रु तीन हजार भाडा तिरेर सञ्चालन गरेको सो पसलमा बिहानदेखि राति १० बजेसम्म ग्राहकहरुको भीड लाग्छ । बस्ने ठाउँ भरिएपछि कतिपय ग्राहकहरुले उठीउठी नै खाने गर्छन् भने कतिपयलाई आधा घण्टासम्म पालो कुर्नुपर्छ ।

चनाचटपटे किन्न आधा घण्टाभन्दा बढी प्रतीक्षा गरिरहेकी जमुना श्रीषले यहाँ जतिको स्वादिलो चटपटे अरु कुनै ठाउँको पनि नहुने भएकाले पालो कुरेर बसेको बताउनुभयो । पुर्जा आलु, प्याज, धनियाँ, कागती, खुर्जानी, भुजा, पेस्ता र बदाम मिलाएर चटपटे बनाउने गर्नुहुन्छ । अरु ठाउँको भन्दा बेग्लै स्वाद र धेरै पनि पाइने भएकाले यहाँ दिनहुँ ग्राहकको भीड लाग्ने स्थानीयवासी धनु बानियाँले बताउनुभयो ।

पुर्जाले रु २० देखि १५० सम्मको प्रतिप्लेट चटपटे बेच्नु हुन्छ । सामान्य चटपटे प्रतिप्लेट रु २० मा पाइन्छ भने कुखुराको खुट्टा र टाउको सँगैको चटपटेलाई १५० रुपैयाँ लिनुहुन्छ ।

दश वर्ष अघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पुर्जा पछिल्लो दश वर्षको अवधिमा चनाचटपटे बेचेर नै लाखौं सम्पत्तिको मालिक बन्नुभएको छ । चार तोला सुनका औंठी र सिक्री झल्काउँदै फटाफट चटपटे बनाउने पुर्जाको कमाइ देखेर कतिपय मानिस हेरेको हेर्‍यै हुने गर्छन् । बेनीका बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्नुका साथै सार्‍हो गार्‍हो परेकाहरुलाई आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ उहाँ ।

तीन छोरा र दुई छोरीका बुबा पुर्जाले कहिल्यै पनि छोराछोरीको आश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो – “हातखुट्टा चलुञ्जेलसम्म यही व्यवसाय गर्छु । मलाई यसैमा मस्ती छ ।”