१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसभित्र महामन्त्रीको आकाँक्षीहरु एक दर्जनको हाराहारीमा



अ+ अ-

काठमाडौं।  नेपाली काँग्रेसको भोलि शुक्रबारदेखि १४ औं महाधिवेशन शुरु हुँदैछ । देशकै सबैभन्दा पुरानो र ठूलो पार्टी नेपाली काँग्रेसले यस महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्दैछ । 

यस महाधिवेशनमा विचार, सिद्धान्त र कार्यक्रममाथि बहस हुनुभन्दा पनि पछिल्ला गतिविधिहरु हेर्दा महाधिवेशन मुलतः नेतृत्व चयनमा बढी केन्द्रित भएको छ । खासगरी सभापति र अन्य प्रमुख पदाधिकारी पदहरुमा नेताहरुबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । 

सभापतिमा को को लड्दैछन् ?
पार्टीको सर्वोच्च पद सभापतिमा मुख्यतः दुई पक्षबीच भिडन्त हुनेछ । सभापति शेर बहादुर देउवाले आफू अरु एक कार्यकालका लागि उम्मेदवार हुने बताइसक्नु भएको छ । देउवासँग १३ औं महाधिवेशनमा सभापतिमा लड्नु भएका कृष्णप्रसाद सिटौलाले अहिले पनि देउवालाई नै समर्थन गर्ने तयारी भएको छ, र प्रदेश एवं जिल्लाहरुमा पनि त्यही अनुरुप समझदारी भएका छन् ।

उहाँलाई चुनौती दिने गरी वरिष्ट नेता रामचन्द्र पौडेल अगाडि आउने अपेक्षा गरिए पनि पछिल्लो समय उहाँले आफू उम्मेदवार नै नहुने बताउन थाल्नु भएको छ । देउवा इतरका नेताहरुबीच सहमति भए मात्र आफू उम्मेदवार हुने पौडेलको भनाई छ । तर प्रकाशमान सिंह, डा शेखर कोइराला र डा शशांक कोइरालाबीच सहमति नहुँदा साझा उम्मेदवार तय गर्न कठिन हुँदैछ । यस समूहले साझा उम्मेदवार दिन नसके देउवालाई सभापति जित्न सहज हुने अनुमान गरिएको छ । 

महामन्त्रीका आकाँक्षी बढे

पार्टीका गतिविधि संचालनमा महत्वपूर्ण भूमिका रहने महामन्त्रीका लागि धेरै आकाँक्षी मैदानमा देखिएका छन् । महामन्त्रीका आकाँक्षीहरुको व्यवस्थापन गर्न देउवा र पौडेल पक्ष दुबैलाई सकस परेको छ ।

देउवा प्यानलबाट महामन्त्रीका आकाँक्षीहरुमा डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, संचार मन्त्री ज्ञानेन्द्र कार्की, विश्व प्रकाश शर्मा, एनपी साउद, रमेश लेखक समेत रहेका छन् । 

उता पौडेल पक्षबाट डा मीनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ समेतका नेताहरु महामन्त्रीका लागि दाबी गरिरहेका छन् । गगन थापाले आजै आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्दै हुनुहुन्छ भने डा रिजालले यसअघि नै उम्मेदवारी घोषणा गर्नु भएको छ । यो समूहबाट सभापतिका आकाँक्षीहरु पनि उपसभापति वा महामन्त्रीमा उठ्न सक्ने सम्भावना पनि त्यतिकै कायम छ । 

तर देउवा प्यानलसँग निकट रहेका कृष्ण सिटौला समूहबाट युवानेता प्रदीप पौडेलले पनि उपसभापति वा महामन्त्रीमा दाबी गरिरहनु भएको छ । सिटौलाले देउवासँगको अन्तिम बार्गेनिङ गर्न बाँकी नै रहेकाले प्रदीप पौडेलको अवस्था अनिश्चित नै छ ।