६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल प्रविधिमा तरकारी मूल्यसूची



अ+ अ-

काठमाडौं । कैलालीको टीकापुरकी पुनम मगर तरकारी किन्न हाटबजार जानुभयो । उहाँको नजर ताजाताजा तरकारीतिर होइन, हाटबजारमा राखिएको डिजिटल मूल्यसूचीमा गयो । उहाँले पाँच मिनेट तरकारीको मूल्यसूची हेर्नुभयो, अनि लाग्नुभयो ताजा तरकारी छान्न ।

टीकापुरमा हरेक साताको बुधबार र शनिबार तरकारी हाटबजार लाग्छ । हाटबजारमा आउने उपभोक्ता तथा ग्राहकलाई किनमेलमा सहजता होस् भनी सबैले देख्न सक्ने गरी डिजिटल प्रविधिमा तरकारी मूल्यसूची राखिएको छ । पुनमले भन्नुभयोे, “अब सजिलो हुनेभयो, तरकारी बिक्रेताले मनोमानी मूल्य लिन पाउने भएनन् ।”

डिजिटल ‘डिस्प्ले’ मूल्यसूचीमा व्यापारीबीचको छलफलपछि तरकारी खरीदबिक्री मूल्य निर्धारण गरी सेट गरिन्छ । “जसले व्यापारीबीचको मूल्यमा पनि एकरुपता आओस् भन्ने उद्देश्य हाटबजार सञ्चालकको छ”, कृषक पूर्ण चौधरीले भन्नुभयो, “हाट बजारमा तोकिएको मूल्यकै आधारमा व्यापारीले विभिन्न खाद्यान्न बाली, तरकारी, कृषि उपजमा कारोवार गर्ने गर्दछन्, यसले सजिलो पनि भएको छ ।”

हाट बजारमा डिजिटल प्रविधिमा मूल्यसूची राख्दा उपभोक्ता ठगिनबाट जोगिने बताउँछन् । “डिजिटल प्रविधिमा हाटबजारमा खरीद बिक्री हुने विभिन्न वस्तुको मूल्य सहजै थाहा पाउन सकिन्छ, ठगिने डर रहेन”, उपभोक्ता पूजा न्यौपानेले भन्नुभयो, “विगतमा व्यापारीले मनोमानी मूल्य लिन्थे, मूल्यमा एकरुपता हुँदा व्यापारीसँग धेरै सोधपुछ गर्न पनि पर्दैन ।”

डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा उपभोक्ता मात्र नभइ बिक्रेता व्यापारीलाई पनि सहज हुने हाटबजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु डगौरा थारुको भनाइ छ । “डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा हाटबजारमा आउने कृषि उपजको मूल्यको डाटा सङ्कलन हुन्छ, यसले गर्दा मूल्य समायोजनामा सहयोग पुग्छ”, उहाले भन्नुभयो, “कम्प्युटर प्रणालीमार्फत मूल्यसूची राखिने भएकाले क्रेता विक्रेतालाई मात्र नभइ बजारमा हुने तरकारीको मूल्यमा आउने उतारबारे विश्लेषण समेत गर्न सहनहुन्छ ।”

सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा पाँच स्थानमा डिजिटल प्रविधिको मूल्यसूची डिस्प्ले मेसिन वितरण गरेको हो । मन्त्रालयका माटो तथा अर्थविज्ञ घनश्याम चौधरीले कृषक, उपभोक्ताको मागका आधारमा कैलालीको धनगढी उपमहानगरपालिकाको त्रिनगर हाटबजार, गौरीगङ्गा नगरपालिकाको चौमाला हाटबजार र टीकापुर नगरपालिकाको हाटबजारलगायतका ठाउँमा डिजिटल प्रविधिको मूल्यसूची जडान गरिएको जानकारी दिनुभयो ।