६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक गाग्री पानीका लागि हप्ता कुर्नुपर्ने



अ+ अ-

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।
सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताउनुभयो ।

पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ । वर्षात्को पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन् । तर, यसपालिका घैँटाका पानी माघ÷फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।

यसपटक प्रशस्त वर्षात् हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ । रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय बासिन्दा गोपाल परियारका अनुसार पानी समस्या बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ ।
हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन् । बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन् ।

“पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ । भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनुपर्छ”, परियारको भनाइ छ । पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । डाँडामा बस्ती रहेकाले पानीको समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन ।
यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । आयोजनाको काम निकै सुस्तगतिमा हुँदा उपभोक्ताले खानेपानीका लागि हैरानी भोग्न बाध्य छन् ।