६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डकै लाइनमा फर्किए प्रधानमन्त्री ओली, यस्तो रहेछ आलोपालो सरकारको रहश्य !



अ+ अ-

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले उतै पार्टी एकताका क्रममा भएको सहमतिको रहश्यबारे बोलेका छन् ।

‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं । पार्टी एकता भइसकेको छ । अब के गर्दा ठीक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारको कार्यशैलीबारे छलफल भएपनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए । नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । प्रचण्डले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तर्वार्तामा सार्वजनिक गरेका थिए । यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थीको युनियन अक्सफोर्ड युनियनको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणदेखि समसामयिक राजनीतिक विषयमा चर्चा गरेका थिए ।

भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने बताएका थिए । अब नेपालको विदेश नीति बलियो र परिपक्व रहने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेश नीति सञ्चालनमा आफूले ध्यान दिएको बताए । उनले नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायत भ्रमण द्विपक्षीय हितका दृष्टिले उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका थिए ।

‘पछिल्लो समय सरकारले कूटनीतिक मान्यता र चासोमा मात्र होइन, मुलुकको प्राथमिकतालाई छुट्याएर काम गरिरहेको छ,’ उनले भने । प्रधानमन्त्री लन्डनको हेथ्रो विमानस्थल ओर्लनेबित्तिकै त्यहाँबाट हेलिकप्टरमा अक्सफोर्ड पुगेका थिए । उनी बेलायती प्रधानमन्त्री टेरिजा मेको निमन्त्रणामा लन्डन आएका हुन् ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, अनुसन्धाता र बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करीब ४ सय सहभागीमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजना सुनाएका छन् ।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिँदै आएको यो मञ्च पाउने सम्भवतः ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी बताए । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थीले आयोजना गरेका थिए । प्रधानमन्त्री ओली बुधबार नेपाली गोर्खाबारे थप अन्तर्क्रिया गरेपछि रेलमार्ग हुँदै फ्रान्स जाने कार्यक्रम रहेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।