६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट आउने मालवाहक गाडीलाई चेकजाँच नगर्न गृहमन्त्रीको ठाडो निर्देशन



अ+ अ-

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

पर्सामा भारतीय सवारीलाई चेकजाँच गरेर ७ वटा गाडी भन्सार कार्यालयमा बुझाइएपछि मन्त्रालयले सवारी साधानको निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको हो ।

ट्राफिक प्रहरीले भारतीय सवारीलाई चेकजाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन्। यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ।

गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको छ। यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरिएको छ।

गृहले एउटै व्यहोराको पत्र झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयमा सम्प्रेषण गरिएको छ ।

मन्त्रायलको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अधिकृत दीपक पौडेलले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘नियामक निकायको समन्वय र अनुरोधविना क्षेत्राधिकार विपरित रोक्ने, दुःख हैरानी दिने कार्य काहीँ कतैबाट नगर्न, नगराउनु हुन गृहमन्त्री स्तरीय निर्णयानुसार अनुरोध छ ।’

पत्रको बोद्यार्थ प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलको मुख्यालय, हल्चोकमा पनि पठाइएको छ ।

कच्चा पदार्थको ढुवानी साधानको भारवहन क्षमता सडकको क्षमताभन्दा बढी भएको सन्दर्भमा त्यसको अनुगमन–नियमन सडक तथा यातायात नियमन निकायबाट गरिनु कानुन सम्मत हुने दाबी पनि पत्रमा गरिएको छ ।

भारतबाट आउने सवारीलाई सशस्त्र प्रहरीले भन्सारमा जाँच गर्दै आएको छ।

नेपाल प्रहरीले प्रज्ञापन पत्र र जाँचपास हुँदा चेकजाँच गर्दै आएको छ। नक्कली प्रज्ञापन पत्र बनाई भन्सार जाँचपास व्यापक हुने गरेको भन्दै प्रहरीले चेकजाँच गर्ने गरेको छ।

सडकको भारवहन क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोक्दै सडकमै कारबाही गर्दै आएको छ।