• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, खारेजीकै माग



काठमाडौं । विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी सभा सम्पन्न भएको छ ।

चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट पूर्वनिर्धारित कार्यक्रमअनुसार विशाल खबरदारी सभा गरिएको हो । माइतीघर मण्डलामा आयोजना गरिएको खबरदारी सभामा दोस्रो जनआन्दोलनको झल्को दिने गरी मानव सागर ओर्लिएको थियो । काठमाडौं उपत्यकाका चोक चोक र गल्ली गल्लीबाट स्वतःस्र्फूत रूपमा खबरदारी सभामा स्थानीय सहभागी भएका थिए ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा सभा आयोजना गरिएको हो । सुरुमा विरोध सभा आह्वान गरिएकोमा सरकारले तत्कालका लागि गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपछि खबरदारी सभाका रुपमा परिणत गरिएको थियो । सभालाई सम्बोधन गर्दै समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारकै हठका कारण आन्दोलन गर्नुपरेको बताए ।

जनताले पहिचानका लागि लड्ने समय आएको बताउँदै उनले गुठी सञ्चालन गरेर जात्रा, पर्व र परम्परालाई जीवन्तता दिने गुठियारलाई हटाएर सरकारले धर्म, संस्कृति र परम्परा मास्न खोजेको आरोप लगाए । उनले भने, ‘गुठियार सम्पदा हुन्, सरकारले बालुवाटारको जग्गा बेच्यो, अब गुठीमा आँखा लगाएको छ । यो तीन करोड नेपालीको मुद्दा हो, नेवार समुदाय मात्रको होइन ।’

उनले आन्दोलनबाट सरकार तर्सिएको दाबी गर्दै विरोधको कार्यक्रमलाई परिमार्जन गर्दै खबरदारी सभाका रूपमा फरक ढंगले आयोजना गरिएको जानकारी दिए । उपत्यकाव्यापी सडक संघर्ष समितिका अध्यक्ष सुमन सायमीले विधेयकमा गुठियारको अधिकार सुनिश्चित गर्नुपर्ने, संस्कृति र सम्पदाको रक्षा गर्ने गरी विधेयक आउनुपर्ने धारणा राखे ।

सायमीले भने, ‘सम्पदा र संस्कृति मास्न सडक विस्तारको समयदेखि नै दुष्प्रयास भएको थियो । जबसम्म गुठियारको अधिकार सुनिश्चित हुने र संस्कृति तथा सम्पदाको रक्षा गर्ने गरी विधेयकमा सुनिश्चितता हुँदैन, त्यस बेलासम्म हाम्रो आन्दोलन रोकिनेछैन ।’

सभालाई सम्बोधन गर्ने अधिकांश वक्ताले सरकारले माफिया र पश्चिमाको हितअनुकूलको विधेयक ल्याएको भन्दै विरोध जनाएका थिए । उनीहरुले जनभावनाविपरीतका अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, गुठीलाई सामन्तवादका रूपमा उल्लेख गरेको भन्दै सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र अभियन्तामाथि दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतको राजीनामा माग गरका थिए । अबको आन्दोलनका कार्यक्रम शान्तिपूर्ण र सरकारलाई खबरदारी गर्नमा केन्द्रित हुने उनीहरुको भनाइ रहेको राजधानी दैनिकले समाचार प्रकाशित छ ।