१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

युरोपका गन्तव्यमा सिधा उडान गर्ने तयारी

युरोपका गन्तव्यमा सिधा उडान गर्ने तयारी
अ अ+ अ-

काठमाडौं– युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

फिनल्याण्ड आफैँले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यहाँको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा ठूलो वायुसेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको छ । काठमाडौँ– फिनल्याण्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ ।

फिनल्याण्ड आफैँले नेपालसँग हवाई सेवा सम्झौताको प्रस्ताव राखेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार फिनल्याण्डका राजदूत स्वयंले फिनिस एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेको छ ।

‘फिनल्याण्ड उडानबारे फिनल्याण्डका राजदूतसँग हाम्रो कुराकानी भएको छ, राजदूतको भनाइमा फिनिस एयरले नेपाल उडानबारे अध्ययन गरिसकेको छ । भारतको नयाँ दिल्लीसम्म आइरहेको उक्त एयरले नेपालमा सिधा उडान भर्ने योजना बनाएको रहेछ । हाम्रा लागि त यो खुशीको कुरा भयो, भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा उडान सहकार्य उपयोगी हुन्छ’, सहसचिव आचार्यले भने ।

फिनल्याण्ड, स्विडेन, डेनमार्कलगायतमा मुलुकबाट धेरै पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने बताइन्छ । सकेसम्म आगामी जुलाई महीनाभित्र हवाई सम्झौता गर्ने मन्त्रालयको तयारी छ । उक्त प्रस्तावबमोजिम मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत निकायसँग राय सुझाव लिएर हवाई सेवा सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा लगिनेछ ।
मन्त्रिपरिषद्को अनुमति पाएपछि सम्बन्धित मुलुकसँग सम्झौताका लागि औपचारिक प्रक्रिया अगाडि बढाइने मन्त्रालयको योजना छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । टर्की युरोप र एशियाको सिमानामा पर्ने भएकाले युरोपका धेरै पर्यटकलाई आकर्षण गर्न नसकेको सहसचिव आचार्य बताउँछन् ।

युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्राञ्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनल्याण्डसँग हवाई सेवा सम्झौता भएपछि युरोपबाट ट्रान्जिटबिना नै नेपाल आउन सकिनेछ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनी नेपाल आउन चाहिरहेको बताइएको छ ।

यस्तै सरकारले अहिले रुससँग पनि हवाई सम्झौताको तयारी गरिरहेको छ । रुसले नेपाल उडानका लागि चासो देखाएको छ । रुसमा यसअघि पनि सम्झौता भएर उडान भए पनि बीचमा रोकिएको थियो । यस्तै पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास थालेको छ । प्रारम्भिक छलफल गरिए पनि इण्डोनेसियाली पक्षले थप प्रतिक्रिया दिएको छैन ।

नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको सहसचिव चाचार्यले बताए । उनले भने, ‘अष्ट्रेलियाका लागि हामीले प्रस्ताव पठाएका छौँ, उताबाट थप जानकारी आएको छैन, इण्डोनेशियाको बाली आउने पर्यटकको केही हिस्सा नेपाल ल्याउनसके पर्यटनमा ठूलो योगदान मिल्ने सम्भावना छ, त्यसैले अष्ट्रेलियन एयरलाइन्स नेपाल आइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।’ विकास साझेदारी मुलुक रसियासँगको पुरानो दौँतरी सम्बन्ध रहेकाले पनि यो मुलुकसँगको हवाई उडान प्रक्रियाले चाँडै पूर्णता पाउने विश्वास लिइएको छ ।

नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि सबै मुलुकले उडान भर्दैैनन् । अहिले २६ वटा वायु सेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लो पटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ ।

उक्त सम्झौताको छिट्टै पूर्ण कार्यान्वयनका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० लाई पनि कम्बोडियामा गन्तव्य विस्तार गर्ने बाटो खुले पनि निगमले पहल गरेको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कम्बोडियाबाट लुम्बिनी आउन बौद्ध धर्मावलम्बी र पर्यटकलाई फाइदा पुग्नेछ ।

यसअघि विसं २०७५ मङ्सिरमा थाइल्याण्ड र जापानसँग हवाई सम्झौताको नवीकरण गरिएको थियो । सरकारले तीन दर्जनभन्दा बढी मुलुकसँग हवाई सम्झौता गरेको भए पनि नेपाली हवाई सेवा प्रदायकले अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि स्वीकृति पाउन सकेको छैन ।

नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने नेपाल एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर तथा हङकङ, बैंकक, दोहा, दुबई र क्वालालम्पुरसहित आठ गन्तव्यमा उडान गर्दै आएको छ भने हिमालय एयरलाइन्सले अबुदायवी, दमाम, क्वालालम्पुर र दुबईभन्दा अन्य गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन । बुद्ध एयरले भारतका केही गन्तव्यमा एटिआर जहाजमार्फत उडान गरिरहेको छ ।