६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा, गौशाला, धुम्बाराही, चप्पलकारखाना, शङ्खपार्क, स्टार अस्पताल, धोविघाट, सुन्धारा, महाँकाल, त्रिचन्द्र क्याम्पस, जयनेपालमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको हो ।

यस्तै, कृष्णपाउरोटी, रणोदीप, विश्वज्योति, गैरीधारा, माइतीघर, नयाँ बानेश्वर चोक, कमलपोखरी, सिटी सेन्टर, ल्होत्से, ज्ञानेश्वर, भद्रकाली र सिंहदरबारमा पनि जेब्राक्रसिङ निर्माण गरेको छ ।

उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थित गर्नका साथै बढ्दै गएको सवारी दुर्घटना रोकथाम गर्न महाशाखाले विसं २०७५ चैत २१ देखि उपत्यकाको ट्राफिक सुधारका लागि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि जेब्राक्रसिङ निर्माण गरिएको जानकारी दिए । “उपत्यकामा सवारी साधनको ठक्करबाट धेरै मानिस मर्ने गरेकाले ट्राफिक प्रहरीले जेब्रा क्रसिङ निर्माणलाई विशेष प्राथमिकता दिएको हो,” उनले भने ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।

उपत्यकामा सञ्चालनमा रहेका सवारी साधनमध्ये तीन हजार ५६ सवारी साधनको प्रदूषण जाँच गर्दा एक हजार ७१० सवारी साधनको प्रदूषण फेल भई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

यस्तै, चैत २१ देखि हालसम्म ४४ हजार ३०० सवारी साधनलाई पाँच मिनेटको सचेतना कक्षा सञ्चालन गर्नुका साथै स्टिकर, पम्पलेट वितरण गरिएको छ ।

तीनमहिने कार्ययोजनाअन्तर्गत नै महाशाखाले चावहिल, सुकेधारा, सानेपा, त्रिचन्द्र, महाँकाल, सुन्धारा, ल्होत्से र सिंहदरबारमा ‘स्टप लाइन’ तथा चावहिलदेखि सुकेधारासम्म, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म, जयनेपालदेखि कृष्ण पाउरोटीसम्म, भद्रकालीदेखि सिंहदरवारसम्म, रत्नपार्कदेखि सुन्धारासम्म सेन्टर लाइन निर्माण तथा मर्मत गरेको छ ।

यसैगरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, नयाँ बानेश्वरदेखि शङ्खमुलसम्म, कोटेश्वरदेखि गौशालासम्म, खानी विभागदेखि महाराजगञ्जसम्म, गौशालादेखि चावहिलसम्मको फुटपाथ तथा सडक पार्किङ हटाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले बालकुमारी पुल, गोपीकृष्ण पुल, भत्केको पुल, हनुमान थान पुल र नयाँ बसपार्क पुलमुनि करिडोर खोलिएको जानकारी दिए । “बाँकी खोल्न बाँकी करिडोर पनि खोलेर चाँडै सञ्चालनमा ल्याउँछौँ,” उनले भने ।