• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo

प्रहरी हिरासतमै २५ वर्षीया महिलाको शव भेटियो, को हुन् ठाकुर ?



सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयमा हिरासतमै महिलाको शव फेला परेको छ ।

मोबाइल चोरीको आरोपमा शनिबार साँझ लहानबाट पक्राउ गरी करिब १० किलोमिटर दक्षिणको महेशबारी प्रहरीको हिरासतमा थुनिएकी करिब २५ वर्षीया सुमनदेवी ठाकुर आइतबार बिहान भुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

आइतबार बिहान करिब सवा ७ बजेतिर हिरासतसँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा ठाकुरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

ठाकुरको शव भेटिएलगत्तै प्रहरी उपरीक्षक चतुर्वेदीसहित लहान प्रहरीका प्रमुख डिएसपी भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष, वडाध्यक्ष घटनास्थल पुगेका थिए ।

स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, पत्रकारको रोहवरमा घटनास्थल प्रकृति मुचुल्का उठाएपछि मृतक ठाकुरको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक ल्याइएको डिएसपी रिजालले बताए ।

को हुन् ठाकुर ?

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरको घरको आर्थिक अवस्था कमजोर छ । उनी यसअघि पनि चोरीको आरोपमा पक्राउ परेकी थिइन् ।

यसअघि १८ चैत ०७५ मा चोरीको मुद्दामा पक्राउ परेपछि उनका पति लक्ष्मणले ४२ हजार रुपैयाँ धरौटी राखेर ठाकुरलाई सिरहा अदालतबाट छुटाएको प्रहरीको भनाइ छ । पहिलो पतिसँग सम्बन्धविच्छेदपछि उनले पाँच वर्षअघि लक्ष्मण ठाकुरसँग विवाह गरेकी थिइन् ।

लहानस्थित एक पसलमा ठाकुरले मोबाइल बेच्न लागेको सूचना पाएपछि लहान प्रहरीले उनलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै लहान प्रहरीको हिरासतमा पु(याइएकी ठाकुरलाई काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो ।

‘लहान प्रहरीको हिरासतमा थुनुवाको संख्या बढी भएकाले सहजताका लागि रातिको खाना खुवाएर महिला प्रहरीसहित दुईजनालाई महेशबारी प्रहरीमा पठाइएको थियो,’ डिएसपी रिजालले भने ।

प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि पानी पिएर शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुन्डिएको अवस्थामा भेटिएको उनको भनाइ छ । ‘आफैँले लगाएको साडी खोली भेन्टिलेसनको रडमा झुन्डिएको अवस्थामा ठाकुरको शव भेटियो,’ रिजालले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।