काठमाडौं । नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले गृहमन्त्री राम बहादुर थापालाई काउन्टर दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै, ‘गृहमन्त्रीले एकातिर इन्काउन्टरमा मारिएको भन्ने, अर्कोतिर छानविन समिति गठन गर्न सकिन्छ भन्नुको अर्थ के हो ?’
शुरुमा आंतककारी समूह भन्ने र पछि राजनीतिक शक्ति भन्ने विगत स्मरण गराउँदै सांसद विष्टले देशभरि यस्ता घटना कहाँ–कहाँ भइरहेका छन्, जानकारी गराउन माग गरे ।
सांसदहरूले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ नभई हत्या भएको बताएका छन् ।
यस्तै सांसद् रामेश्वर राय यादवले प्रश्न गरे, ‘हरेक अपराधमा सजाय गर्ने कानून हुँदाहुँदै हत्याको बाटो किन रोज्यो ?’ घटनाको प्रकृति र प्रत्यक्षदर्शीको भनाइ सुन्दा हत्या नै भएको देखिएको यादवको भनाइ छ ।
संसदको राज्य व्यवस्था समितिले सोमबार घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छ ।
विप्लव समूह जिल्ला इन्चार्ज पौडेलको असार ५ गते लालबन्दीमा ज्यान गएको थियो ।