काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक रमाउने खालको विकास आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नागरिकलाई खुशी बनाउने खालको बजेट ल्याउनुपर्ने उहाँको धारणा थियो ।
हेटौँडा उपमहानगरपालिकाको पाँचौँ नगरसभामा मुख्यमन्त्री पौडेलले उत्पादन र रोजगार सृजना हुनेखालको बजेट बनाउन सके मात्र राम्रो हुने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले एक पटकको बजेटले मात्रै खासै फरक नपार्ने भन्दै बजेटले आगामी दिनमा समानुपातिक विकासलाई समेट्नुपर्ने धारणा राख्नुभयो । विकासका लागि पैसा वा अर्थ मात्रै ठूलो कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले योजना प्रमुख कुरा भएको बताउनुभयो ।
हेटौँडाको शहीद स्मारक ९० हजार लागतमा शुरु भएको योजना आज देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कार्यान्वयनमा इमान्दारिता र लगनशीलता भए विकास र समृद्धि सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक रुपान्तरण गर्ने कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले कामको गति छिटो भएको तर त्यसअनुसार कानून नभएकाले समस्या सृजना भएको बताउनुभयो । हेटौँडामा सडक फराकिलो बनाउने कामसँगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागिपरेको बताउँदै प्रमुख महतले पाँच वर्षको आफ्नो कार्यकालमा हेटौँडालाई नमूना शहरका रुपमा विकास गरिने बताउनुभयो ।