काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड– २०७५ को लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही असार १७ गते हुने अवार्डका लागि मंगलबार पत्रकार सम्मेलनमार्फत वर्षको उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई, जुडोका इन्द्रबहादुर श्रेष्ठ परेका छन् ।
यसैगरी महिलामा फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान, भलिबलकी सरस्वती चौधरी र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् । वर्ष २०७५ को उत्कृष्ट युवा खेलाडी अवार्डका लागि ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
यसैगरी प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ ।
मञ्चअन्तर्गत खेलाडी छनोट समितिले वर्षभर खेलाडी र प्रशिक्षकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा हात पारेको उपलब्धिको आधारमा उनीहरूलाई मनोनयन गरेको हो ।
एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन् ।
वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटर साइकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्टले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष र महिला विजेतालाई टर्किस एयरलाइन्सबाट जुनसुकै गन्तव्यको दुईतर्फी हवाई टिकट पनि प्राप्त गर्नेछन् । पारा एथलिट, टिम अफ दी इयर र लाईफ टाइम अभिचमेन्ट अवार्डको घोषणा असार १७ नै गरिने बताईएको छ ।