काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि आन्दोलन फिर्ता लिएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र व्यवसायीबीच बुधबार भएको बार्तामा मन्त्री यादवले पेट्रोलियम ढुवानी व्यवसायीमा भ्याट कार्यान्वयनको समय थप गर्ने प्रतिवद्धता जनाएका थिए ।
भ्याट कार्यान्वयनको समयसीमा बढाउन मन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले बताए ।
सरकारले आर्थिक वर्ष ०७६र०७७ को बजेटमार्फत ढुवानी व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । सरकारले जेठ १५ गते बजेटबाट गरेको घोषणा अनुसार थ्रेसहोल्डमा परेका सबै व्यवसायी असार १३ गतेसम्म भ्याटमा दर्ता भई सक्नुपर्ने थियो । सरकारले भ्याटमा दर्ता हुन समय नदिएको भन्दै व्यवसायीहरुले ढुवानी आदेश नलिने घोषणा गरेका थिए ।