जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ गिद्धास्थित जनता माध्यमिक विद्यालयका शिक्षक र बिद्यार्थी आन्दोलनमा उत्रिएका छन् । तलब नपाएको भन्दै शिक्षकहरु तीन दिनदेखि ‘पेन डाउन’ गरेका छन् । जसका कारण पठनपाठन नभएपछि विद्यार्थीले पनि आन्दोलन थालेका हुन् ।
बुधबार आन्दोलनकारीले हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका छन् ।हुलाकी सडकमा टायर बालेर अवरुद्ध गर्दा तीन घण्टासम्म यात्रुहरु अलपत्र परे । सडक अवरुद्ध गरेपछि विद्यार्थीले नगरपालिका पनि घेराउ गरेका थिए ।
विद्यार्थीले शिक्षकको तलब निकासा गर, पठनपाठन सुचारु गर, मेयर दास मुर्दावाद जस्ता नारा लगाएका थिए । विद्यार्थीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।