• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश

‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाउनुभयो र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुग्नुभयो तर उहाँलाई उहाँलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो– औपचारिक शिक्षा ।

पटकपटक संसद्मा पुगिसकेकी उहाँलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्नेबित्तिकै मन झसंग हुन्थ्यो र उहाँसँग दिने जवाफ नै हुँदैन्थ्यो । तर, बिहीबारदेखि भने उहाँको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उहाँको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ ।

यो बर्ष छोरी विणुसँगै एसईई दिएकी शान्ताले २.६५ जीपीएसहित ‘बी’ ग्रेडमा उत्तीर्ण गर्नुभएको छ । खुला विद्यालयअन्तर्गत दाङको महेन्द्र मावि तुलसीपुरबाट परीक्षा दिएकी शान्ताले अंग्रेजी, नेपाली र सामाजिकमा ‘बी’, शिक्षामा ‘बी प्लस’ तथा गणित, विज्ञान, स्वास्थ्य र अर्थशास्त्रमा ‘सी प्लस’ गरी समग्रमा ‘बी’ ग्रेडमा उत्तीर्ण गर्नुभएको छ । छोरी विणुले भने ‘बी प्लस’ ग्रेड ल्याउनुभएको छ ।

यो नतिजा सार्वजनिक भएसँगै शान्ताको जीवनमा खुसीयाली छाएको छ । ‘अब कम्तीमा पनि मेरो पनि शैक्षिक योग्यता हुने भयो’, उहाँले खुसी व्यक्त गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जीवनमा धेरै पीडा दिएको काँडा झिकेको जस्तो अनुभव भएको छ, माथिल्लो कक्षामा पनि पढ्नेछु ।’ अब कक्षा ११ मा कानुन वा राजनीतिशास्त्रमध्ये एउटा पढ्ने उहाँले बताउनुभयो । ‘मेरो यी दुवैमा चासो हो तर अझै निर्णय गरिसकेको छैन’ –उहाँले भन्नुभयो ।

परीक्षा बोर्डले नजिता प्रकाशन गरेसँगै शान्ताको फोनमा बधाई आउन शुरु गरेको थियो, जो रातिसम्म कायम थियो । ‘प्रधानमन्त्री, शिक्षामन्त्री, सभामुख सबैले फोनमा बधाई दिइसक्नुभयो’, उहाँले भन्नुभयो– ‘बुढेसकालमा भए पनि औपचारिक शिक्षा लिएर ठीकै गरेछु जस्तो लागेको छ ।’

शान्ताको विगत भने निकै पीडादायी थियो । घोराही उपमहानगरपालिका–४, डाँडागाउँ निवासी आमा कुन्चीदेवी र बाबा हसुलाल चौधरीको कोखवाट २०३७ जेठ २ गते जन्मेकी शान्ता सानैदेखि जमिन्दारको घरमा कम्लरी बस्नुभयो । आर्थिक अभावका कारण पाँच दिदी र दाजुसहित बुवा आमा समेत उहाँ जमिन्दारको घरमा कम्लरी बस्नुभयो । अर्काको घरमा कम्लरी बसेर पढ्न सम्भव थिए ।

२०४५ साल माघ १ देखि उहाँको कम्लरी जीवन शुरु भयो । कम्लरी बसेकै बेला १५ वर्षको उमेरमा अर्का कमैया हरिलाल चौधरीसँग विवाह भयो । उहाँले १८ वर्ष कम्लरी जीवन बिताउनुभयो । कमलरी भएकै बेला २०६२ सालमा राष्ट्रिय भूमिअधिकार मञ्चमा आबद्ध भएपछि भने शान्ताका पीडाका दिन संघर्षमा बदलिन थाले । २०६४ मा भएका संविधान सभाको चुनावमा एमालेको तर्फबाट समानुपाति सभासद् बनेपछि भने शान्ताले जीवनमा कहिल्यै पछाडि फर्कनुपरेन ।

सभासद् भएर प्राकृतिक स्रोतसाधन समितिको सभापतिसमेत भइसकेपछि बल्ल शान्तालाई पढ्नुपर्छ भन्ने लाग्यो । स्थानीय विद्यालयमा कक्षा ८ मा प्रथम भएपछि अझै पढ्ने चाहना बढ्यो र उहाँ एसईई उत्तीर्ण गर्ने तहसम्म पुग्नुभयो । हाल नेकपा संसदीय दलकी सचेतक शान्ता नेकपा केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।