काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ ।
मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो ।
तर नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ भने नेपाल आउने छैनन् । सिनियर टिमका पनि सदस्य रहेका रोहित र पवनले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने छन् । पारस खड्काको कप्तानीमा रहेको सिनियर टिम पनि मंगलबार अभ्यासका लागि मलेसिया पुगेको छ ।
त्यहाँ नेपाली टिमले मलेसियासँग २ वटा टी–२० खेल्ने र २० तारिखमा मात्रै सिंगापुर जाने तयारी गरेको छ ।
नेपालले इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको थियो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङ्कङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ ।
श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत सहभागी हुनेछन् ।