काठमाडौं । सत्तारुढ नेकपाले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन् ।
‘अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको भन्दै पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न अग्रह गरिएको छ ।
हेर्नहोस् ओली र प्रचण्डको संयुक्त विज्ञप्ति