८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा



अ+ अ-


सप्तरी । पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ ।

औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र पोखरी थुन्दै स्थायी संरचना निर्माण गरेपछि रुपनी गाउँपालिकास्थित उक्त औद्योगिक क्षेत्र डुबानमा परेको हो । औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउबाट चल्ने पानीको बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले शहीद स्तम्भ निर्माणका लागि माटो भर्ने र इँटाको पर्खाल निर्माण गरेका कारण औद्योगिक क्षेत्र डुबान परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको स्थानमा शहीद गेट, शहीद पार्क र शहीद स्तम्भ निर्माणको काम भइरहेको छ । निर्माणाधीन शहीद स्तम्भले पानीको बहाव हुने मुख्य भाग नै थुनेकाले औद्योगिक क्षेत्र डुबानमा पर्नुका साथै औद्योगिक क्षेत्रमा सञ्चालित सबै उद्योगमा पानी पस्ने खतरा बढेको प्रमुख आचार्यले बताउनुभयो ।

पानीको निकास नै थुनिने गरी भौतिक संरचना निर्माण गरिएकाले सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराए पनि समस्या समाधानका लागि ती निकासले चासो नदेखाएको कार्यालय प्रमुख आचार्यको गुनासो थियोे ।

औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि सो ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औद्योगिक क्षेत्रको निकास नै थुनिने गरी हचुवाको भरमा संरचना निर्माण गरिएकाले उक्त क्षेत्र डुबानमा परेको बताउँदै समस्या समाधानका लागि केही समयअघि सरोकारवाला निकायसँग छलफल गरी पानीको निकासका लागि अहिले निर्माणाधीन शहीद स्तम्भलाई पश्चिमतर्फ सार्ने र त्यसको छेउमा हिमपाइप राखी निकास दिने सहमति भए पनि समय आभावका कारण त्यसो हुन नसकेकाले औद्योगिक क्षेत्र डुबानमा परेको हो भन्नुभयो ।