• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

पशुसँगै सुत्छन् बाढीपीडित, चिउराकोभरमा गर्भवती



भलोहिया । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि देखिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् । पीडितहरू विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या भएको छ ।

बालबालिकालाई पनि उत्तिकै पीडा छ । त्यसमा पनि गाईबस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने त्रास बढ्दो छ । विस्थापितको बासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो । विस्थापितले एक सयभन्दा बढी गाईभैंसी, बाख्रा विद्यालयमा बाँधेका छन् । त्यहीँ नजिकै विस्थापितले चुलो बनाएका छन् । तर खाद्यान्न अभावमा धेरैको चुलोमा आगो बलेको छैन ।

लगातारको वर्षापछि आएको बाढीले सबै वडा डुबानमा परेको गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले बताए । ‘यति नै क्षति भयो भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सबैभन्दा बढी २ नम्बर वडाका ४ सयभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूलाई खाद्यान्नलगायतको जोगाड गर्दै छौं ।’ गाउँपालिकाले चिउरा, चाउचाउलगायत खानेकुरा सहयोग गरेको छ । अन्य खाद्यान्न पनि दिने तयारी भइरहेको साहले जानकारी दिए । बाढीबाट विस्थापितको पुनःस्थापनाका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

अहिले डुबेका घरमा पानी घटेको छ । तर त्यत्तिमै घर जान विस्थापितलाई डर लागेको छ । फेरि बाढी आउने पो हो कि भन्ने त्रास रहेको पीडित बताउँछन् । त्यसैले केही समय स्कुलमै बस्ने उनीहरूको भनाइ छ । स्कुलमा पानीको समस्या छ । विस्थापित सबैले एउटै धाराबाट काम चलाउनुपर्छ । ‘कष्टले बसेका छौं । सधैं गाउँपालिकाले खान देला भनेर कसरी बस्नु रु’ स्थानीय हरेन्द्र सहनी भन्छन्, ‘ज्यान त जोगाइयो, अब खान र बस्नको समस्या छ ।’ सहनीको ८ जनाको परिवार स्कुलमा शरण लिई बसेको छ । पानीको सतह बढेर घर डुब्न थालेपछि ३ छोरा, ३ छोरी, श्रीमती र आफू साथै भागेर ज्यान जोगाएको उनले जानकारी दिए ।

तराई, मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण बर्सेनि ज्यान गुमाउनेको संख्या ठूलो छ । यस वर्ष मात्र बाढीबाट रौतहटमा ८ जनाले ज्यान गुमाए । १ जना बेपत्ता छन् । लगातारको वर्षापछि लालबकैया र वाग्मती नदी बस्ती पस्दा जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा छ ।

जिल्लामा बाढीबाट झन्डै ७० हजार घर प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । २० हजार घरपरिवार विस्थापित भएको प्रारम्भिक अनुमान छ । ४ सय घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । यसबाट ३० हजार मानिस प्रभावित छन् । अझै क्षतिको तथ्यांक बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

चिउराकोभरमा गर्भवती
उनको पेटमा ५ महिनाको गर्भ छ । यति बेला स्वास्थ्यको राम्रै ख्याल राख्नुपर्छ । तर बाढीले घर डुबाउँदा विस्थापित भएपछि स्वास्थ्य परको कुरा, उनले भरपेट खान पाएकी छैनन् । दुई दिन भयो, उनले चिउराको भरमा दिन काट्नुपरेको । दुई वर्षीया नाबालक छोरीलाई समेत उनले अघाउन्जी खुवाउन सकेकी छैनन् ।

उनी अर्थात् २३ वर्षीया गर्भवती सोनादेवी पासवान । सरस्वती माविमा सपरिवार आश्रय लिइरहेकी उनी सोमबार निकै पीडामा भेटिइन् ।घरमा पानी पसेपछि खानेकुरा सबै त्यहीं थुनिए ।

भाँडाकुँडा र खाद्यान्न भित्रै परेपछि परिवारलाई कसरी बचाउने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ ।‘छोरीले तातो भात खान खोजेकी छ, पकाएर ख्वाउन सकिन्छ कि भनेर चुलो बनाउन लागेको छु,’ उनले भनिन् । राहतस्वरूप आउने चामलको पर्खाइमा छिन् उनी । शुक्रबार रातिको बाढीले घर भत्किन थालेपछि सन्तोष पासवान ५ वर्षीय छोरा विवेक र २ वर्षीया छोरी रुचिलाई काखमा च्यापेर गर्भवती श्रीमती सेनादेवीसहित बाहिरिए । हतारमा एकसरो लत्ताकपडा पनि निकाल्न पाएनन् । खाद्यान्न सबै बगायो । हेर्दाहेर्दै सानो घर डुब्न लाग्यो । गाउँले चिच्याउन थाले । त्यो दिन उनीहरू नजिकको स्कुलमा रातभर जाग्राम बसे ।

वाग्मती र झाझ खोला बस्ती पसेको थियो । यसबाट बस्तीका झन्डै ३ सय घर डुबानमा परे । ज्यान जोगाउन लाग्दा खाद्यान्न, लत्ताकपडा केही निकाल्न नपाएको सन्तोषले गुनासो गरे । ‘आँखै अगाडि घर भत्किन थालेपछि बच्चा र श्रीमतीलाई बाहिर निकालेर भागें,’ उनले भने, ‘एकैछिनपछि गाउँलेहरूसमेत भागाभाग भए ।’

गर्भवती श्रीमतीलाई भिटामिन र खानपिनमा हेरचाह गर्नुपर्ने बेला विपद् आइलागेको उनले बताए । गाउँमा बाढीले धेरैका घर भत्किए । सामान काम नलाग्ने भए । कसैले पनि घरका सामान निकाल्न सकेनन् । गाईबस्तु भने गोठबाट बाहिर निकालेर जसोतसो जोगाए । ‘चुलो त बनायौं तर खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा छौं,’ सोनादेवीले भनिन्, ‘यस्तो विपद् कहिल्यै भोगेका थिएनौं ।’, समाचार कान्तीपुर दैनिकमा प्रकाशित छ ।