काठमाडौं । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन असमावेशी भएको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन उत्रिएका उनिहरुले आरक्षणको रक्षा तथा लोकसेवा आयोगले असमावेशी तरीकाले गरेको विज्ञापन सच्याउनका लागि दवाव सिर्जना गर्न प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए ।
माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनले बताएको छ । यदि अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म उनीहरुले धम्की दिएका छन् ।
स्थानीय तहमा कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले नौ हजार १६१ जना कर्मचारीको लागि विज्ञापन जारी गरेको थियो ।
उक्त विज्ञापनमा संविधानअनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रीट दायर भएको छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा सडक प्रदर्शन पनि भइरहेको छ ।