८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीका पम्पहरुमा गुणस्तरीय डिजेल र पेट्रोल बिक्री !



अ+ अ-

–निरा गौतम

रुपन्देही । रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो ।

आइतबार र सोमबार अनुगमनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक भएको जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वाणिज्य कार्यालय, नापतौल तथा गुणस्तर विभाग, आयल निगम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा रुपन्देहीका पेट्रोल पम्पमा गुणस्तर राम्रो भएको पाइएको हो ।

टोलीले रुपन्देहीको ओमसतीया गाउँपालिका–४ स्थित मोहित आयल फिलिङ सेन्टर र हरिकृष्ण आयल सप्लायर्स, सिद्धार्थ नगरपालिका–१ स्थित नवजीवन स्टोर्स, बुटवल रामनगरस्थित अशोका सप्लायर्स, श्री रिपुमर्दिनी पेट्रोल पम्प र बुटवलको नेपालगञ्ज रोडमा रहेको बुटवल डिजेल सेन्टरमा अनुगमन गरेको हो ।

नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताउनुभयो ।

अनुगमन गरिएका सबै पम्पमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवालीले बताउनुभयो । “डिजेल र पेट्रोलको गुणस्तर ठीक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

पेट्रोल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने नभएको पाइएको छ । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिनुभयो ।

“अधिकांश पेट्रोल पम्पमा सुरक्षा उपकरण नभएको पाइयो”, उहाँले भन्नुभयो । अनुगमन गरिएका पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । अधिकृत भट्टराईले लैङ्गिक र अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

जिप्रकाका अधिकृत भट्टराई, नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेल र कर्मचारी रमेशप्रसाद पाण्डे, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराई र राजकुमार घिमिरे, आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवाली र केशवप्रसाद गौतम, वाणिज्य कार्यालयका मङ्गला शर्मा, नेपाल प्रहरीका एनबी थापालगायतको टोलीले पेट्रोल पम्पमा स्पष्ट देखिने गरी बोर्डको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।