६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा काङ्ग्रेस : आफ्नै शुभेच्छुक संस्थाको अलग हुने दिए चेतावनी



अ+ अ-

काठमाडौं । कांग्रेसमा १४औँ महाधिवेशन नजिकिँदै गर्दा समूह–उपसमूहका भेला र बैठकहरू तीव्र बन्दै छन् । १३औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको कार्यकाल सकिनै लाग्दा उनका विरोधीहरूले शृंखलाबद्ध भेलाहरू गर्न थालेका छन् । कोइराला परिवार, नेता रामचन्द्र पौडेल पक्ष र सिटौला पक्षले देउवाको विरोधमा पटकपटक छलफल गर्दै आएका हुन् ।

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएपछि सभापतिको पार्टी सञ्चालन शैलीको सबैभन्दा बढी विरोध भएको थियो । तर, संघीय संरचनायुक्त विधान बनेपछि यसलाई कार्यान्वयनमा लाने नियमावलीको मस्यौदाको विषय उठाउँदै पूर्वसंस्थापन पक्ष सभापति देउवाविरुद्ध लागेको छ ।

नियमावलीले पार्टी लेबीका नाममा सदस्यता र नवीकरण शुल्क धेरै उठाउन खोेजेको, अनुशासनका नाममा पार्टीमा मनोमानी गर्न खोजेको, भ्रातृसंस्थामा अनावश्यक हस्तक्षेप गर्न खोजेको र पार्टीको समानान्तर शैलीमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई अघि बढाउन खोजेको भन्दै सभापति देउवाको आलोचना बढेको छ ।

शंका र आलोचनापछि नियमावलीबारे दुई दिन छलफल भएपछि पुनः नियमावली मस्यौदा समितिले सहमतिका आधारमा पास गर्ने गरी केन्द्रीय समितिबाट पास गरिएको थियो । तर, केन्द्रीय समितिबाट पास भएपछि आगामी ७ साउनमा पुनः केन्द्रीय समिति बैठक नबस्दासम्म यी प्रावधानलाई खुकुलो बनाई छाड्ने प्रण पूर्वसंस्थापन पक्षले गरेको छ । यी नै विषयसहित एकपछि अर्को गर्दै देउवाविरुद्ध विभिन्न चरणमा भेला र छलफल हुँदै आएका छन् ।

शुभेच्छुक संस्था पनि विरोधमा
नियमावलीका केही प्रावधानमा कांग्रेसका शुभेच्छुक संस्थाले आपत्ति जनाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको अगुवाइमा शुक्रबार बसेको शुभेच्छुक संस्थाहरूको बैठकले पार्टीले अनावश्यक रूपमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका हुन् ।

प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल शिक्षक संघ, डिएलए नेपाल, इन्जिनियर एसोसियसन, नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाल प्रेस युनियनसहितका संस्थाले शुक्रबार छलफल गरी पार्टीको हस्तक्षेपको नीति बदल्न नेतृत्वलाई माग गरेका हुन् ।

मुख्य गरी शुभेच्छुक संस्थाको कुनै पनि कार्यसम्पादन गर्न वा महाधिवेशन गर्न पार्टीबाट प्रतिनिधि पठाउने र उनीहरूकै सल्लाहमा काम गर्नुपर्ने विषय जायज नभएको उनीहरूको भनाइ छ । शुभेच्छुक संस्थाहरूको स्वरूप अरू भ्रातृसंस्थाको जस्तो नभएको भन्दै उनीहरूले पार्टीले हस्तक्षेप गरे पार्टीप्रति पेसाकर्मीहरूको आकर्षण नै नहुने तर्क उनीहरूको छ । शुभेच्छुक संस्थाका सदस्यहरू स्वतः कांग्रेसका सदस्यहरू हुनुपर्ने प्रावधानप्रति पनि उनीहरूले आपत्ति जनाएका छन् ।

पार्टी अनुशासन र आचारसंहिताअन्तर्गत पार्टीले कारबाही गर्दा शुभेच्छुक संस्थाबाट स्वतः निलम्बन हुने, संस्थाका सदस्यहरू प्रत्येक वर्ष नवीकरण हुनुपर्ने विषयलाई पनि सच्चाउन उनीहरूले माग गरेका छन् । आफूहरूको असन्तुष्टिका विषयमा शुभेच्छुक संस्थाहरूले पार्टीलाई ज्ञापनपत्र बुझाउने तयारी गरे पनि पार्टीले पुरानै व्यवस्थाअनुसार गर्न लागेको जानकारी पाएको ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिए । ‘शुभेच्छुक संस्थालाई नियन्त्रण गर्न खोजेपछि हाम्रो असहमति हो । हामी कम्युनिस्ट होइनौँ, विचारले समर्थन गर्छौँ तर स्वतन्त्र हुनुपर्छ भन्ने हो,’ यादवले नयाँ पत्रिकासित भने, ‘संगठनमाथि लगाम लगाउन खोजेपछि हामीले पाइँदैन भनेका हौँ ।’

यी हुन् संस्थापनविरुद्धका तीन बैठक
शशांकनिवासमा कोइराला परिवार
१३औँ महाधिवेशनबाट कांग्रेसमा कोइरालाहरूको पारिवारिक बिरासत गुम्न पुगेपछि आउँदो महाधिवेशनमा उनीहरू त्यसलाई फर्काउने दाउमा छन् । त्यसैले बिपीपुत्र एवं महामन्त्री डा. शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र केशव–नोनापुत्र डा. शेखर कोइरालाले पछिल्लो दुई वर्षयता पारिवारिक भेटघाट तीव्र बनाएका छन् । १४औँ महाधिवेशनमा आफू सभापतिको आकांक्षी नरहेको नेतृ सुजाताले प्रस्ट पारिसकेकी छिन् । डा। कोइरालाद्वयले भने सभापतिमा दाबेदारी छोडिसकेका छैनन् । यस्तोमा १४औँ महाधिवेशनमा देउवालाई जसरी पनि परास्त गर्ने भन्नेमा कोइराला परिवारका नेता सहमत छन् ।

शेखर र शशांकबीच सभापतिमा को अघि बढ्ने भन्ने खुलिसकेको छैन । तर, आलोपालो पारिवारिक भेट, संयुक्त रूपमा कार्यक्रम गरी देउवाविरुद्ध एक हुने सन्देश दिँदै आएका छन् । उनीहरूले १४औँ महाधिवेशनमा कोइराला परिवारकै सदस्यले सभापतिमा दाबेदारी दिने संकेत दिइसकेका छन् ।

यसअघि सँगै तीन चार चरण खाना खाने, वीरगन्जमा एउटै कार्यक्रममा पुग्ने, विराटनगरमा संयुक्त कार्यक्रम गरेका थिए । गत हप्ता शशांकको निवासमा शेखर र सुजाता पुगे । जिपी प्रतिष्ठान विस्तारको विषयमा समीक्षा गर्न भेला भए पनि पार्टीभित्र आफूहरू सशक्त भएर जाँदा मात्रै बलियो हुन सकिनेमा छलफल गरेको उनीहरूनिकट स्रोत बताउँछ । परिवारिक भेट भनिए पनि पार्टीमा आफूहरूको दाबेदारी बढ्दै गएको सन्देश उनीहरूले दिएका हुन् ।

महतनिवासमा पूर्वसंस्थापन
संशोधित विधानको नियमावलीमा सभापति देउवा पक्षले मनोमानी गरेको भन्दै केही दिनअघि डा। रामशरण महतको निवासमा पूर्वसंस्थापनका नेता भेला भए, जहाँ रामचन्द्र पौडेल, महामन्त्री शशांक, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, नियमावली मस्यौदा समितिमा रहेका सदस्य प्रदीप पौडेल र जीवन परियार सहभागी थिए । नेता महतले नियमावली कार्यान्वयन गर्न गाह्रो हुने गरी आएपछि आफूहरू छलफलमा जुटेको जानकारी दिए । ‘पार्टीमा नियमावली छलफलका क्रममा भएपछि हामीले पनि छलफल गरेका हौँ,’ महतले भने, ‘नियमावली जसरी आएको छ, कार्यान्वयन हुन गाह्रो छ । त्यसैले यसमा सुधार गराउन हामी समान मतमा पुगौँ भनेर छलफल गरिएको हो ।’
उनीहरूबीच लेबी बढी भएको, लेबीको नाममा शुल्क उठाउँदा पार्टीको लोकतान्त्रिक छवि गुम्ने, अनुशासन र आचारसंहिताबारे कडा प्रावधान राख्न नहुने निष्कर्षमा पुगेका थिए । उनीहरूले भ्रातृ, शुभेच्छुक संस्थामा पार्टीले अनावश्यक हस्तक्षेप गर्न नहुने निष्कर्ष निकालेका थिए ।

देउवाविरुद्ध एक हुन तरुण नेताको आग्रह
देउवाविरुद्धको मोर्चाबन्दीस्वरूप दुई दिन तरुण दलका नेताहरूले रामचन्द्र पौडेल, शशांक, प्रकाशमान सिंहसहितका नेतालाई आग्रह गरे । चार वर्षसम्म तरुण दललाई चारजनाले चलाउँदा पनि पार्टी नेतृत्वले प्रभावकारी अग्रसरता नदेखाएको भन्दै नेताहरूलाई निकास खोज्न आग्रह गरेका थिए ।

पूर्वसंस्थापनका नेताहरू एक ठाउँमा उभिए मात्रै देउवाको कार्यशैलीको विरोध गर्न सकिने भन्दै तरुण दलका नेताहरूले पौडेल, कोइराला र सिंहलाई मिलेरै अघि बढ्न आग्रह गरे । छलफलका क्रममा नेता पौडेलले नियमावली अप्रजातान्त्रिक आएको भन्दै सच्याउन दबाब दिइरहेको बताएका थिए । जिल्ला र क्षेत्रमा पनि देउवाविरोधीलाई एक ठाउँमा ल्याउन पौडेलले आफूनिकटका नेतालाई आग्रह गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।