८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म सेटिङ मिलाएर पैसा कमाउन मुख्यमन्त्री बनेको हैन: राई



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले घुस प्रकरणमा कर्मचारीहरु पक्राउ पर्न थालेको भन्दै प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने बताएका छन् ।

सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको एउटा आकस्मिक बैठकमा उनले भने, ‘म सेटिङ गरेर पैसा कमाउन आएको हैन, जनताको सेवा गर्न आएको हुँ,म भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउछु ।’


मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताए ।

उनले आफ्नो राजनीतिक जीवनमा कमिशन, घुसको लोभ नभएको भन्दै आफू प्रदेश बनाउन आएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षासमेत गरे ।

‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, मन्त्री राईले भने,यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्ने नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’

एक साताअघि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्री राईको निर्देशनमा सोमबार कर्मचारीहरुको आपतकालीन बैठक बोलाइएको थियो । बैठकमा सञ्चारकर्मीलाई समेत डाकिएको थियो ।

बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतका कर्मचारी खुलेआम घुससहित पक्राउ पर्नुले लज्जावोध भएको बताए । यसबाट जाने सन्देशले प्रदेश सरकारलाई कमजोर बनाउने उनले बताए ।

कर्मचारीहरु जनताले कर तिरेको पैसावाट नै चल्ने भएकाले जिम्मेबारीका साथ काम गर्न सल्लाह दिए । मुख्यमन्त्री राईले प्रदेश १ का कर्मचारीहरुको गलत प्रवृत्तिको छानबिन गर्ने कार्य मन्त्रालयले शुरु गरेको जानकारी समेत दिए ।

मुख्यमन्त्री राईले कर्मचारीको गलत प्रवृत्तिका कारण अचानक बैठक वोलाउनु परको भन्दै सम्पूर्ण कर्मचारीहरुलाई जनतामा राम्रो सन्देश पुग्ने काम गरेर देखाउन आग्रह समेत गरे ।