सियोल । दक्षिण कोरियाको विशाल मोबाइल निर्माता कम्पनी सामसुङले फोल्ड गर्न मिल्ने अत्याधुनिक स्मार्टफोन आगामी सेप्टेम्बरदेखि बजारमा ल्याउने भएको छ । सियोलस्थित मुख्यालयमा बिहीबार यस्तो घोषणा गरिएको हो ।
जापानले कोरियालाई केही महत्वपूर्ण विद्युतीय सामग्री निर्यात नगर्ने जनाएपछि समस्यामा परेको सामसुङले निर्धारित मितिमै नयाँ योजना सार्वजनिक गरेको हो ।
सामसुङको ग्यालेक्सी फोल्ड पनि जापानी कम्पनी सुमिटोमो केमिकलले सामान आपूर्ति नगर्ने भएपछि समस्यामा परेको हो । गत अप्रिलमै ग्यालेक्सी फोल्ड सार्वजनिक गर्ने योजना थियो । तर यो स्मार्टफोनको स्क्रीनमा समस्या देखिएपछि उत्पादन बजारमा ल्याइएको थिएन ।
तर अहिलेको डिभाइसमा निकै सुधार गरिएको कम्पनीले दाबी गरेको छ । सामसुङले झण्डै आठ वर्ष लगाएर यो फोल्ड गर्न मिल्ने सामसुङ फोल्ड तयार गरेको थियो ।