७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानिय सरकारको वडा कार्यालयमा दन्कियो आगो, सामान जलेर नष्ट



अ+ अ-

डोटी । जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ । आगजनी किन, कस्ले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।”

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताउनुभयो । विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ ।

अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ ।