११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पोर्चुगलमा नेपाली पाठशाला, कखरा सिक्दै नेपाली बालबालिका

पोर्चुगलमा नेपाली पाठशाला, कखरा सिक्दै नेपाली बालबालिका
अ अ+ अ-

पोर्चुगल । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ ।

यहाँको सरकारी विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन् । नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ । नेपाली भाषा कतिको आउँछ त भन्ने प्रश्नमा सदीक्षाले अङ्ग्रेजी र पोचुगालीभन्दा धेरै कम आउने प्रतिक्रिया दिइन् ।

नेपालीभन्दा अङ्ग्रेजी र पोर्चुगाली सजिलो लाग्ने उनको भनाइ थियो । हालसम्म नेपाल नदेखेकी उनले छिट्टै नेपाल जानेसमेत बताइन् ।

सदीक्षा जस्तै चितवनका सोहन सापकोटा र पोखराका रस्मित कुँवरको पनि उस्तै समस्या छ । उनीहरु पनि यहांँको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् । दश वर्षका सोहन कक्षा ४ मा पढ्दै छन् । भने ११ वर्षीय रस्मित भर्खरै कक्षा ५ मा भर्ना भएका छन् ।

सोहन र रस्मितलाई पनि सदीक्षालाई जस्तै पोर्चुगाली भाषा खरर बोल्न र लेख्न आउँछ । तर नेपाली भाषा बोल्नसक्ने भए पनि लेख्न भने उनीहरु दुवैलाई समस्या छ । घरमा बोल्ने भाषा नेपाली भएका कारण उनीहरु नेपाली बोल्न सक्ने भए पनि यहाँको स्थानीय विद्यालयमा लेख्ने र पढ्ने भाषा पोर्चुगाली नै भएका कारण पनि उनीहरूलाई नेपाली भाषामा समस्या भएको हो ।

सदीक्षा, सोहन र रस्मित जस्तै पोर्चुगलमा जन्मेका र हुर्केका अधिकांश नेपाली बालबालिकामा यो समस्या सामान्य जस्तै छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा देखिएका यस्ता समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ ।

समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बनस्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा पाँच वर्षमाथिका र १२ वर्षमुनिका २५ नेपाली बालबालिकालाई कखरा सिकाइँदै छ ।

पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा लेखनमा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले राससलाई जानकारी दिनुभयो । दुई जना नेपाली शिक्षिकामार्फत साताको तीन दिन नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताउनुभयो ।

राईका अनुसार पोर्चुगलको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको वार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निःशुल्क कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पाठशालामा बालबालिकालाई साताको दुई दिन सोमबार र मङ्गलबार नेपाली भाषासम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका विद्या आचार्यले बताउनुभयो । उनीहरुलाई कखरादेखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपालसम्बन्धी जानकारी, वाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाइएको छ ।

नेपालमा रहँदा डेढ दशक बढी अध्यापन पेशामा सक्रिय रहनुभएकी आचार्यले विदेशी भूमिमा नेपाली बालबालिकालाई अध्यापन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिनुुभयो । अधिकांश बालबालिका पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने भए पनि नेपाली भाषामा भने समस्या रहेको उहाँले बताउनुभयो । आचार्यका अनुसार पाठशालामा बालबालिका नियमित जस्तै आउँछन् । उनीहरु नेपाली सिक्न उत्साहित छन् ।