२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु



अ+ अ-

हेरात । अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए । उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुबाहक बसले ठक्कर दिएको बताए । उक्त घटनामा अरु १० जना सख्त घाइते भएका छन् ।

फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले बम निकै शक्तिशाली भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउनुभयो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

राष्ट्रसंघले मंगलबार मात्र सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०१९ का छ महिनाको अवधिमा समग्रमा व्यक्ति हत्याको संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृत्यु बढी भएको उल्लेख छ । चालू वर्ष २०१९ का छ महिनामा एक हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई हजार ४४६ जना घाइते भएका छन् ।

समग्र सर्वसाधारणको मृत्युमध्ये पनि एक तिहाई बालबालिकाको रहेको छ । राष्ट्रसंघका अनुसार तालिबानका कारण भन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ । राष्ट्रसंघले हिंसा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर गरेको छ ।

आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिंसा अझ बढ्ने अनुमान गर्न थालिएको छ । चुनावमा अफगानिस्तानका प्रमुख विद्रोही शक्तिहरु तालिबान समूह र इस्लामिक स्टेटको पूर्ण विमती रहेको छ ।

औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । तालिबान समूहका आत्मघाती आक्रमणकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आक्रमण गरेका थिए ।

राष्ट्रपतिको चुनाव हुनुअघि नै तालिबान समूहसँग शान्ति सम्झौता गर्ने तयारी अमेरिकाको छ, तर कतारमा महिनौंदेखि जारी अमेरिका र तालिबानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।