११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जाजरकोट बारेकोट, स्वर्गजस्तै साइक्वारी !

जाजरकोट बारेकोट, स्वर्गजस्तै साइक्वारी !
अ अ+ अ-

–हेमन्त केसी
जाजरकोट । सधँै गरीब र अशिक्षा र रोगले ग्रसित भनेर आरोप लाग्ने जाजरकोटमा पछिल्लो समयमा परिचय बदलिन थालेको छ । जिल्लाको बारेकोट गाउँपालिका–४ साइक्वारीस्थित दर्जन ताल, धार्मिक तीर्थस्थल, तलैया र हिमाल अनि जडीबुटीको भण्डारकै कारण जिल्लाको परिचयसमेत बदलिन थालेको छ ।

वरिपरि कलकल बग्ने सानाठूला खोला, कतै टलक्क चम्किरहेका हिमशृङ्खला, कतै चिसो र मन्द हावा अनि विभिन्न जातका बुकी तथा झुलिरहेका वनस्पतिको दृश्य अनि पाटनभरि फुलिरहेका प्याउली फूलले सजाएको क्षेत्र हो साइक्वारी । सदरमुकाम खलङ्गादेखि तीन घण्टाको गाडी यात्रापछिको दुई दिनको पैदल यात्रापछि पुगिने सुन्दर साइक्वारी क्षेत्र राज्यका निकायको नजरमा परेको छैन ।

विश्वमै दुर्लभ जन्तु र पक्षीको वासस्थानले सिङ्गारिएको बारेकोटको साइक्वारी क्षेत्र सुन्दरमात्र होइन, जाजरकोटको समृद्धिको आधार पनि हो । भौगोलिक विकटता अनि दुर्गम बस्तीको सिरानीमा समुद्र सतहबाट तीन हजार ५०० मिटरको उचाइमा रहेको बारेकोटको सुन्दर धार्मिक पर्यटकीय क्षेत्र साइक्वारी प्राकृतिक सुन्दरताको उत्कृष्ट नमूना पनि हो ।

स्वर्ग कस्तो होला भनेर सोध्नेका लागि एउटा उत्तर पनि हो बारेकोटको साइक्वारी अनि वरिपरिको सुन्दर भूगोल । कहाँ मान्छेको मन आनन्दित हुन्न र ? कहाँ मन नाच्छ कहाँ मन रमाउँछ यिनै सवाल र प्रश्नको वस्तुगत उत्तर दिन्छ बारेकोटको साइक्वारी क्षेत्रको सुन्दरताले ।

बारेकोट गाउँपालिका–४ को भूगोलमा पर्ने साइक्वारी क्षेत्रलाई प्राकृतिक सुन्दरता, धार्मिक विश्वास र जैविक विशिष्टताका कारण स्वर्गभन्दा पनि फरक नपर्ने स्थानीय वुद्धिजीवी जनकबहादुर शाहीले बताए । जलवायु परिवर्तनको असर भएको बेला पनि सुरक्षित जैविक विविधता रहेको बारेकोटको साइक्वारी आसपासका क्षेत्र सुन्दर र स्वस्थ्य पनि रहेको शाहीले बताए ।

धर्मयुगमा भगवान् शिवजीले मृतावस्थाकी सत्यदेवीको देह बोकेर संसार घुमाउने क्रममा उहाँको कुनै एउटा अङ्ग पतन भएको र संसार यात्राको क्रममा थाकेपछि शिवजीले थकाइ मार्न बास बसेको स्थान साइक्वारी हो भन्ने किम्वदन्ती रहेको छ ।

बारेकोट गाउँपालिका वीरेन्द्र एश्वर्य माविका प्रचार्य गोरखबहादुर सिंहले उति बेला यो साइक्वारीमा शिव भगवान् बास बसेको र सत्यदेवीको अङ्ग पनि पतन भएकोबारे आफूले बूढापाकाबाट सानैमा सुनेको बताउनुभयो । उनले बारेकोटलगायत विभिन्न क्षेत्रका सर्वसाधारणले साइक्वारी क्षेत्रलाई काशीको अर्को रुपमा मान्ने गरेको बताए ।

जाजरकोट, डोल्पा, सल्यान, रुकुम जुम्लालगायत कर्णाली प्रदेशका सर्वसाधारणले साइक्वारी मन्दिर र ताललाई भारतको काशी क्षेत्रको अर्को रुपको रुपमा हेर्ने गरेको सिंहको भनाइ छ ।

प्राकृतिक एवं भौगोलिक सुन्दरताको उत्कृष्ट नमूनाका रुपमा रहेको नीला अनि मनोरम दृश्य भएका शङ्खे दह, कुकुर दह, सँुगुर दह र ठाकुरजी दह मात्र होइन यहाँका ताल र पाटनबाट देखिने रुकुमको सिस्ने हिमाल, डोल्पाको कान्जीरुवा हिमाल, जाजरकोटको पाँच हजार ४१२ मिटर अग्लो कराइचुली हिमाल अनि मनमोहक कुशे हिमालको सुन्दरता कुनै शब्दमा बयान हुनै नसक्ने छ ।

यस्तै साइक्वारी क्षेत्रका देउराली पाटन, द्वारे पाटन, च्याखुरे पाटन र सजवन पाटनको हरियाली मात्र होइन ती पाटनमा लहराउँदै उड्ने डाँफे, मुनाल चिरकालीज अनि मात्तिदै उफ्रेर डुल्ने कस्तुरी, मृग, बाघ, भालु अनि विश्वकै दुर्लभ रेडपान्डाको विशिष्ट संसारले त्यहाँ पुग्ने जो कोही पनि लोभिएर फर्किन्छन् । नेपालको अन्य कुनै पनि भूगोलमा नपाइने अनौठो गुण र रुप भएका चरा पनि यस क्षेत्रमा पाइने गरेका छन् ।

साइक्वारीको मन्दिरमा वर मागेर घर फर्किदा कसैलाई हेर्न नपाइने धार्मिक विश्वास पनि यहाँको अनौठो विशेषताको रुपमा रहेको छ । वर मागेर फर्किएको कुनै महिला या पुरुषले अरुलाई हेरे अशुभ मानिने स्थानीयमा धार्मिक विश्वास छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बारेकोट क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि केन्द्र र प्रदेश सरकारले कुनै योजना नदिएको गुनासो गरे । साइक्वारी क्षेत्र बारेकोट र जाजरकोटको मात्र नभई समग्र कर्णाली प्रदेश तथा देशकै सुन्दर पर्यटकीय क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरेको बताए ।

पदमार्ग, पूर्वाधार तथा अन्य कुराको व्यवस्थापन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र हुन सक्ने नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव तथा स्थानीय प्रभात चलाउने बताए ।